अन्तराष्ट्रिय समाचार

गाबोनमा सेनाले रेडियो कब्जामा लिएर शासन घोषणा गर्यो

गाबोन : पुस २३ गते। 

अफ्रिकी मुलुक गाबोनमा यहाँको सेनाले राष्ट्रपतिलाई अपधस्त गरी शासन सत्ता हातमा लिएको छ ।

यहाँको राष्ट्रिय रेडियो नै कब्जामा लिएर सेनाले ‘पुर्नस्थापना परिषद’ स्थापना भएको घोषणा गरेको हो । रेडियो स्टुडियोभित्र सैनिक अधिकारीले बोल्दै गरेको तस्बिर र भिडियो समेत अहिले सामाजिक संजालमै सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमले जनाए अनुसार सोमबार बिहानै राष्ट्रिय टेलिभिजनको कार्यालय छेउछाउ सेनाले नै आक्रमण गरेको थियो ।

स्टुडियोमार्फत सैनिक अधिकारीले जारी गरेको घोषणापत्रमा यहाँका राष्ट्रपति अली बोंगोलाई शासन सञ्चालनमा असक्षम रहेको आरोप लगाइएको छ । सैनिक लेफ्टिनेन्ट केली ओन्डो ओबियाङले राष्ट्रपतिलाई गलत तरिकाले शासन गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै नयाँ नेतृत्व आफूले लिएको घोषणा गरेका हुन् ।

रेडियो स्टुडियोमा बसेर केली ओन्डोले आफ्नो घोषणापत्र पढिरहँदा उनको पछाडि दुई सैनिक जवान उभिरहेको तस्बिर पनि सामाजिक संजालमा सार्वजनिक भएको छ ।

राजधानीमै बिहान स्थानीय समय अनुसार साढे ६ बजे सेनाले हमला गरेको संचारमाध्यमले जनाएका छन् । तर अहिले उक्त क्षेत्र सेनाकै कब्जामा रहेको बताइएको छ ।

राष्ट्रपति अली बोंगो गत नोभेम्बरदेखि बिरामी भइ स्वास्थ्य उपचारको क्रममै रहेको बेला सेनाले यस्तो घोषणा गरेको हो । त्यसो त, राष्ट्रपति अलीको शासन पनि अवैध भन्दै टिप्पणी हुँदै आएको थियो ।