मनोरंजन

‘जीवन काँडा कि फूल’ रिलिज हुँदै

महोत्तरी  पुस २३ गते। 

 मदन पुरस्कार विजेता झमक घिमिरेको आत्मकथामा आधारित ‘जीवन काँडा कि फूल’ फिल्म चैत २२ देखि देशभर रिलिज हुने भएको छ। निर्माण कम्पनी विष्ट ब्रदर्स फिल्म प्रालिले धनकुटा–६, कचिडेस्थित घिमिरेको जन्मघरमा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो। निर्माण भएको झन्डै एक वर्षपछि फिल्म रिलिज हुन लागेको हो।

साहित्यकार घिमिरेले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ले २०६७ सालको मदन पुरस्कार पाएको थियो। सोही कृतिमा आधारित रहेर फिल्म निर्माण गरिएको छ। फिल्मले पुस्तकमा जस्तै पर्दामा सामाजिक सन्देश दिने फिल्मका निर्माता तथा निर्र्देशक विनोद विष्टले बताए। फिल्ममा झमक जन्मिएदेखि मदन पुरस्कार पाएसम्मको दृश्य समावेश छ।

झमकको जीवन भोगाइ संघर्षको चित्रण रहेको फिल्ममा काल्पनिकभन्दा पनि यथार्थ झल्काउन निकै मेहनत गरिएको विष्टले जनाए। उनले भने, ‘झमकको जीवन भोगाइको संघर्ष पर्दामा दुरुस्त उतार्न कलाकार र लोकेसन छनोटमै कठिन भएको थियो। 

पत्रकार सम्मेलनमा प्रतिक्रिया राख्दै मदन पुरस्कार विजेता साहित्यकार घिमिरेले फिल्मको पर्दामा देखाइएको आमाको भूमिकामा थोरै चित्त नबुझेको बताइन्। उनले भनिन्, ‘जति रियल लाइफमा बनेको भने पनि फिल्म फिल्म नै हो। कतिपय दर्शकले किताबको जस्तो सरर बनेको सोच्लान् तर फिल्मले त्यसरी देखाउन सकेको छैन। आमाको रोल अति छुच्चो छ। त्यसलाई दर्शकले फिल्मलाई फिल्मकै रूपमा लिएर बुझिदिनुहोला र हेरिदिनुहोला, यो मेरो आग्रह छ।’

फिल्मका वितरक सुनिल मानन्धर छन्। फिल्ममा झमकको बाल्यकालको रोल सिलगुडीकी अवस्था थापा र युवतीको रोल काठमाडौंकी रोजिता बुद्धाचार्यले गरेकी छन्। त्यस्तै झमकको बुवाको भूमिकामा किसन सुनार र आमाको भूमिकामा उमा गिरी छन्। फिल्ममा अन्य ३० भन्दा बढी कलाकारको अभिनय छ। करिब ६० लाख रुपैयाँको लागतमा निर्माण भएको फिल्म दुई घण्टा पाँच मिनेटको छ।

फिल्मको कार्यकारी निर्मातामा बद्री चौहान, उमानाथ सुवेदी र जुनु गौतम छन्। फिल्मको संवाद पनि झमक घिमिरेको छ। यस्तै पटकथामा मुक्ति उपाध्याय बराल, संगीतमा प्रकाश शिवाकोटी, गीतकारमा झमक घिमिरे, प्रकाश शिवाकोटी, छायाँकार शिव ढकाल, नृत्य निर्देशन कमल राई, प्रोडक्सन डिजाइनर दिनेशप्रकाश महरा, प्रोडक्सन म्यानेजर प्रकाश हमाल, कलररिस्ट श्याम कुँवर, सम्पादक तारा थापा किम्भेलगायत छन्। सिलगुडीका विष्टले यसअघि ‘प्रेम प्रतीक्षा’, ‘रणसंग्राम’ र ‘म कसरी भनूँ’ फिल्म निर्माण गरिसकेका छन्।