राष्ट्रिय समाचार

माधुरीको हत्या पति र सासूससुराबाट : माइती

वीरगन्ज :  पुस २३ गते। 

वीरगन्जकी माधुरी वर्णवालको हत्या उनका पति, सासू तथा ससुराले गरेको आरोप माइतीले लगाएको छ । माधुरीका बुवा वेदप्रकाश वर्णवालले सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरी दाइजोको निहुँमा घर पक्षले छोरीको हत्या गरेको आरोप लगाए ।  


वेदप्रकाशले माधुरीका पति मनिष वर्णवाल, ससुरा गोपीचन्द्र वर्णवाल र सासू राजकुमारीदेवी वर्णवालविरुद्ध कर्तव्य ज्यान मुद्दामा नेपालगन्ज प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

नेपालगन्जका प्रहरी उपरीक्षक अरुण पौडेलले सुरुमा उजुरी दर्ता गर्न नमानेको बताउँदै वेदप्रकाशले भने, ‘सुरुमा प्रहरी उपरीक्षक पौडेलले घटना ढाकछोप गर्न खोजका थिए । हामीले दबाब दिएपछि प्रहरीले आरोपीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी उजुरी दर्ता गरेको छ ।’ उनले दोषीलाई कडा कारबाही गर्न माग गरे ।
माधुरीको २०७४ मंसिरमा हिन्दु परम्पराअनुसार नेपालगन्ज निवासी गोपीचन्द्रका जेठा छोरा मनिषसँग विवाह भएको थियो । ‘विवाहको केही महिनापछि ससुराली पक्षले थप दाइजोको प्रस्ताव ल्याई छोरी माधुरीलाई मानसिक दबाब दिन थाले’, वेदप्रकाशले भने । 


‘छोरीको विवाहमा १८ लाख रुपैयाँ खर्च गरेको थिएँ’, वेदप्रकाशले थपे, ‘ज्वाइँले बारम्बार छोरीलाई भन्थे– दाइजोमा चारपांग्रे गाडीसहित नगदको प्रस्ताव आएको थियो तर बिहे गरिनँ । तिम्रो बुवाले केही दिनुभएन, दाइजो बाहेक थप सुन र नगद ल्याऊ नत्र तिमीलाई छाडेर अर्को विवाह गर्छु । यसरी मानसिक तनाव दिँदै आएका थिए ।’


पुस १८ मा मनिषले फोन गरी माधुरीसँग झगडा भएको खबर गरेको वेदप्रकाशले बताए । उनले भने, ‘मनिषको खबरलगत्तै माधुरीको मोबाइल नम्बर ९८४५१३३७४८ मा बारम्बार फोन गर्दा उठेन । त्यसपछि पुनः मनिषको मोबाइलमा फोन गर्दा फोन उठाएनन् । उनका पिता गोपीचन्द्रको मोबाइलमा फोन गरेपछि माधुरीको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । यो सुनेर म स्तव्ध भएँ ।’ मनिषको फोन आएलगत्तै पाँच मिनेटमा छोरी अस्पताल कसरी पुगी भन्ने प्रश्न उनको थियो ।

पछि नेपालगन्ज पुग्दा माधुरीले सिलिङ फ्यानमासाडीको पासो लगाई आत्महत्या गर्ने प्रयास गरेको र उपचारका लागि भेरी अस्पतालमा लैजाँदा बाटोमै मृत्यु भएको आफूलाई बताइएको वेदप्रकाशले सुनाए । ‘कपोलकल्पित घटनाको विवरण प्रस्तुत गरेर हामीलाई भ्रममा पार्न खोजिएको छ’, उनले भने, ‘माधुरीले आत्महत्या नै गरेकी थिइन् भने समयमै प्रहरीलाई किन खबर गरिएन ? छिमेकीलाई समेत घटनाको बारेमा जानकारी नहुनु, घटनास्थलका सम्पूर्ण प्रमाण मेटाई मृतकलाई अस्पताल पुर्याई मृत घोषित गराउनुलगायतका गतिविधिबाट छोरीको हत्या नियोजित तरिकाले गरेको पुष्टि हुन्छ ।’


गोपीचन्द्र पूर्व कानुन व्यवसायी हुन् र मनिष पनि मेडिकल लाइनमा काम गरिरहेका हुनाले माधुरीको हत्यालाई आत्महत्या बनाउने प्रपञ्च रचिरहेको उनले बताए ।


माधुरी विवाह गर्नुपहिले राष्ट्रिय बिमा समितिमा काम गर्थिन् । ‘छोरी पढेलेका थिइन् । आएको जुनसुकै परिस्थितिको सामना गर्न सक्ने क्षमता उनमा थियो’, आमा पुष्पा वर्णवालले भनिन्, ‘केही महिनाअघि छोरीले फोन गरी मनिष अरु केटीसँग लागेको र उनको अनैतिक सम्बन्धको भिडियोसमेत ट्याबमा देखेको बताएकी थिइन् ।’


मनिषले प्रयोग गरेको ट्याब नियन्त्रणमा लिई अनुसन्धान गर्न पुष्पाले माग गरिन् । उनले माधुरीको डायरी झिकाएर अनुसन्धान गर्न पनि प्रहरीलाई अनुरोध गरिन् ।