राष्ट्रिय समाचार

इन्धन भर्ने व्यवस्था भए प्रदेश २ मा जहाज भाडा घट्ने

महोत्तरी  पुस २३ गते।  

 प्रदेश २ मा सञ्चालनमा रहेका विमानस्थलहरूमा इन्धन भर्ने र रात्रीकालीन अवतरणको सुविधा नभएकाले हवाई सेवा प्रदायक कम्पनीहरू यी ठाउँमा ठूला विमान उडाउन मानेका छैनन् ।
प्रदेशका जनकपुर, राजविराज र सिमरामा विमानस्थल छन् । धेरै पुरानो हवाईअड्डा राजविराज केही महिनाअघिबाट पुनः सञ्चालनमा आएको छ । यी सबै विमानस्थलका माध्यमले दक्षिण सीमावर्ती भारतीय नागरिक र पूर्वी पहाड तथा हिमालका जनतालाई हवाई सुविधा पुग्दै आएको छ ।
प्रदेशका विमानस्थलमा इन्धन भर्ने सुविधा र रात्रीकालीन अवतरण गर्ने पूर्वाधार बनाउन जनकपुरका समाजसेवी विजयकुमार सिंहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत सम्बद्ध मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् ।

बुद्ध एयर जनकपुरको प्रबन्धकसमेत रहेका सिंहले धार्मिक, पर्यटकीयलगायत विभिन्न कारणले महत्वपूर्ण क्षेत्रमा आवागमन सहज बनाउन ती विमानस्थलमा ठूल्ठूला विमान अवतरणका लागि इन्धन भर्नेजस्ता पूर्वाधार आवश्यक रहेको प्रदेश २ सरकारलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।


विमास्थलमा इन्धन भर्नेलगायतका पूर्वाधार बने बुद्ध एअरले मार्च १ देखि राजविराज विमानस्थलमा एटिआर (७२ सिटे विमान) उडान सञ्चालन गर्ने सिंहले पत्रमा उल्लेख गरेका छन् । हाल जनकपुर विमानस्थलमा मात्र एटिआर उडान हुँदै आएको छ ।



विमानस्थलमा इन्धन भर्ने सुविधा नहुँदा जहाजले क्षमताअनुसारको लोड बोक्न नपाउने भएका कारण भाडा दर सस्तो नहुने सिंहले बताए । उनले आवश्यक पूर्वाधार स्थापना र सञ्चालनमा आए विमान कम्पनीहरूले नियमित उडान संख्या थप्ने र अन्य सेक्टरमा झैं प्रदेश २ मा पनि हवाई भाडादर कम गर्ने बताए ।


अहिले प्रदेश २ को अस्थायी राजधानी जनकपुर र बाराको सिमरा विमानस्थलमा यात्रुको चापको तुलनामा विमान उडान संख्या कम रहेको गुनासो सेवाग्राहीको छ ।