सोनामाई खबर

११ हजारमा बलात्कार मिलापत्र

जनकपुरधाम । पुस २४ गते। 

धनुषाको मिथिला नगरपालिका २ मा भएको एउटा बलात्कारको घटना राजनीतिकर्मीको दवावमा सोमवार मिलापत्र भएको छ ।

पीडित परिवारलाई धम्क्याएर बलात्कारको घटना मिलापत्र गराईएको हो । दुईदिन अगाडी त्यहाँकी एक १५ वर्षिया बालिकालाई स्थानीय अशोक भन्ने ज्ञान महराले फकाएर घर लगेका थिए । बेलुकी ५ बजे बालिकालाई अशोकले आफ्नो घर लगे । पछि आफ्न्तले बालिकालाई खोजी गरिरहेका बेला अशोकले बालिकालाई राति १० बजे घर फर्काएका थिए ।

 

मोवाइल दिएर फकाई अशोकले बालिकालाई घर लगी बलात्कार गरेको पीडित परिवारको भनाई छ । पीडित परिवारले बलात्कार गर्ने अशोक विरुद्ध प्रहरीमा उजुरी दर्ता गराउने चर्चा चलेपछि पीडित परिवारलाई घटना प्रहरीसम्म नपुर्याउन दबाब दिईएको बताईएको छ ।

पीडित बालिकाका बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् । घरमा पुरुष नभएकै कारण पीडितकी आमा डरले घटना मिलापत्र गर्न तयार भएको स्थानीय एक युवाले बताए । उनका अनुसार  छलफलमा  बलात्कार गर्ने युवकबाट ११ हजार जरिबाना गरेर घटना मिलाइएको हो ।प्रहरीले घटनाबारे जानकारी नभएको बताए ।