राष्ट्रिय समाचार

शसस्त्रद्वारा १५ किलो अवैध लागुऔषध गाँजा बरामद

सर्लाही  । पुस २४ गते। 

सर्लाहीको बरहथवा नगरपालिका वडा न–१२ स्थित बागमती नहरबाट शसस्त्र प्रहरीको टोलीले १५ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

गाँजा ओसारपसारमा संलग्न रहेका तस्करको भने पहिचान हुन सकेको छैन् । मोटरसाइकलमा गाँजा लिएर उखुबारी नजिक उभिरहेका  दुई युवकहरु प्रहरीलाई देख्ने बित्तिकै गाँजा राखेको बोरा त्यहीँ छाडेर फरार भएको  सशस्त्र प्रहरी उपरीक्षक समर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आइतवार दिउँसो बरामद भएको गाँजा सशस्त्र प्रहरीको बेश क्याम्प सुन्दरपुर चुहर्वाले सोही साँझ जिल्ला प्रहरी कार्यालय मलंगवामा लगेर बुझाएको छ । यस सम्बन्धि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  निमित्त प्रहरी प्रवक्ता एवं  प्रहरी निरीक्षक सन्तुलाल जैसवारले बताउनुभयो ।

 पछिल्लो समय सर्लाहीमा अवैध लागुऔषध गाँजा र त्यसको तस्करीमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । केही महिनाको अवधीमा जिल्लाको नारायणखोला, पत्थरकोट, हरिवन, बागमती, चन्द्रनगर लगायतको स्थानबाट एक किलोदेखि ३० किलोसम्म लागु औषध गाँजासहित आधा दर्जन भन्दा बढी मानिसहरु पक्राउ परिसकेको जिप्रकाले जनाएको छ । सर्लाहीको उत्तरी सीमाना सिन्धुली र मकवानपुरको पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा खुल्ला सीमा नाकाहुँदै भारततर्फ तस्करी हुने गरेको छ ।