सोनामाई खबर

चिनीको खुद्रा मूल्य बृद्धि गर्न मिल मलिकहरु दबाब

महोत्तरी पुस २५ गते

सरकारले उखुको मूल्य निर्धारण गरेसँगै चिनी व्यापारीहरुले पनि चिनीको खुद्रा मूल्यमा भारी मूल्यवृद्धि गर्न दबाब दिएका छन् । भारतीय नाकाबाट चोरीपैठारी गरी नेपाल भित्र्याएको चिनीलाई अत्यधिक महंगोमा बिक्री गर्ने योजना तुहिएपछि रन्थनिएका चिनी व्यवसायीहरु पछिल्लोपटक फेरि मूल्यवृद्धिका लागि सरकारी कर्मचारीमार्फत लबिङ सुरु गरेको उच्च स्रोतको दाबी छ । प्राप्त सूचनाअनुसार चिनी उत्पादक संघको नामक संस्थाको हवालामा चोरीपैठारीको चिनीलाई नेपाली उत्पादनको ट्याग लगाएर बिक्री गरी नाफा खाँदै आएका केही उद्योग सञ्चालकहरु मूल्य बढाउन ‘लबिङ’मा लागेका छन् । उनीहरुले मूल्यवृद्धि नगरे सरकारले तोकेको मूल्यमा किसानसँग उखु खरिद समेत नगर्ने भन्दै धम्की समेत दिनथालेका छन् । उक्त संघका अध्यक्ष तथा लामो समयदेखि किसानसँग खरिद गरेको उखुको पैसा नदिई बसेका शशीकान्त अग्रवालले सरकारले तोकेको मूल्यमा उखु किनेमा तत्काल चिनीको खुद्रामूल्य न्यूनतम ९० रुपैयाँ तोक्न दबाब दिएका हुन् ।

सरकारले हालै उखुको मूल्य प्रतिक्विन्टलको ५ सय ३६ रुपैयाँ ६५ पैसा तोकेको थियो । नेपालमा एक वर्षमा न्यूनतम दुई लाख ३५ हजार मेट्रिक टन चिनी आवश्यक पर्ने गरेको छ । भने बाहिरी मुलुकबाट दुई लाख ५० हजार मेट्रिकटनभन्दा बढी चिनी आयात भएको रेकर्ड रहेको छ । नेपाली चिनी उद्योगहरुको गोदाममा चोरीपैठारीबाट आयात गरिएको चिनी थुप्रिएर बसेको छ । सोही चोरीपैठारी चिनीलाई स्वदेशी उत्पादन भन्दै महंगोमा बिक्री गर्न सरकारलाई अझै पनि दबाब दिँदै आएका छन् । यसैबीच, उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । तर उखु किसानको विकासमा खर्च गर्ने भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्राप्त ७ करोड ४९ लाख ४ हजार रुपैयाँ राहत अनुदान हालसम्म किसानलाई वितरण नगरी सीमित चिनी उद्योग सञ्चालकहरुले आफूखुसी खर्च गरेको समेत आरोप लागेको छ । सो राहत रकम चिनी उत्पादन संघका अध्यक्ष शशीकान्त अग्रवालकै योजनामा अन्यत्र खर्च गरेको आरोप किसानहरुको रहेको छ । सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले किसानलाई राहत अनुदान रकम वितरणका लागि जिल्लामा पठाएको थियो । सरकारले १३ जिल्लाका किसानका लागि राहत अनुदान रकम पठाएको थियो ।

सो रकम वितरण गर्न सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी उखु किसान राहत अनुदान वितरण समिति गठन गरिएको भए पनि अहिलेसम्म सो राहत रकम किसानसम्म पुगेको छैन । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट गत कात्तिक १४ गते उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेर कारबाही अगाडि बढाए पनि पछि सो मुद्दा बीचबाटोबाटै हराएको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक हुन् भने उनी नेपाल चिनी उत्पादक संघका अध्यक्ष अग्रवालकै भाइ समेत हुन् । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले ८ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले ३८ करोड ६८ लाख रुपैयाँ किसानको बक्यौता तिर्न बाँकी रहेको र सो बक्यौता पटक–पटक भुक्तानी गर्न सरकारले निर्देशन दिए पनि सो निर्देशनको बेवास्ता गरी बसेपछि अग्रवाललाई पक्राउ गरिएको थियो । पक्राउ गर्नका लागि वाग्मती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाल र एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक तथा चिनी उत्पादनक संघका अध्यक्षसमेत रहेका शशीकान्त अग्रवाल, अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डस्ट्री प्रालि सर्लाहीका सञ्चालक राकेश अग्रवाल र इन्दिरा सुगर मिल्स नवलपरासीका सञ्चालक ज्ञानप्रसाद भट्टराईलाई तत्कालै पक्राउ गर्न गृह मन्त्रालयले पत्र काटे पनि उनीहरु भने प्रहरीको नियन्त्रणमा अझै परेका छैनन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई पक्राउ गरिएको भए पनि उनीमाथि के कारबाही भयो भन्नेबारे सरकारले कुनै कुरा सार्वजनिक गर्न चाहेको छैन । नेपाली चिनी उत्पादन गर्ने अनुमति पाएका नेपाली उद्योग सञ्चालकहरुले ६० प्रतिशत चोरीपैठारीबाट आयात भएको चिनी गोदाम गरी नेपाली उत्पादनको ट्याग टाँसेर बिक्री गर्दै आए पनि सरकारले भने कारबाही गर्नसकेको छैन भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । व्यवसायीहरुले भन्सारदेखि मन्त्रालयसम्म नै ‘सेटिङ’ मिलाएर दक्षिणी नाकाबाटै वार्षिक २० हजार मेट्रिक टन (दुई करोड किलोग्राम) चिनी तस्करी गर्दै आएका छन् । अत्यधिक मात्रामा कैलालीको त्रिनगर भन्सार आसपासको क्षेत्र र कञ्चनपुरको गड्डाचौकी नाकाका कर्मचारीकै मिलेमतोमा चिनी तस्करी भइरहेको छ ।

भन्सार ऐनको परिच्छेद ५ को दफा १३ को उपदफा ४ मा पैठारीकर्ताले कारोबार मूल्य प्रमाणित गर्ने कागजात संलग्न गरेमा सोहीअनुसारको मूल्य निर्धारण गरिने उल्लेख छ। यसैगरी, लामो समयदेखि नेपाली उत्पादनको नाममा नवलपरासीस्थित लुम्बिनी चिनी उद्योग सुनवलले उखु किसानहरुको उखु तौलमै ठगी गर्दै आएको छ । चोरीपैठारी गरी नेपाल भित्र्याएको चिनीलाई नेपाली उत्पादनको ट्याग टाँसी अत्यधिक रुपमा अवैध कारोबार गर्नेमा पाँचवटा चिनी उद्योग अगाडि रहेका छन् । हाल सञ्चालनको अनुमति पाएका १३ उद्योगमध्ये अत्यधिक रुपमा चोरीपैठारीको चिनी बिक्री गर्दै आउनेमा पाँचवटा रहेका छन् । चिनी उत्पादन संघकै अध्यक्ष शशीकान्त अग्रवालको कम्पनी पहिलो नम्बरमा परेको छ । अग्रवालको जनकपुरमा रहेको एभरेष्ट सुगर केमिकल इन्डस्ट्रिज, सिराहाकै हिमालय चिनी उद्योग, सिद्धार्थ चिनी उद्योग ९हाल नाम परिवर्तन गरी बागमती कायम० महेन्द्र सुगर मिल, श्रीराम सुगर मिल्सले नेपाली उत्पादन भन्दै चोरीपैठारी गरि नेपाल भित्र्याएको चिनी बिक्री गर्दै आएको छ ।

यसरी अवैध कारोबार गर्नेमा गोल्छा र विशाल ग्रुपको लगानीमा मोरङमा रहेको इस्टर्न सुगर मिल, शशीकान्त अग्रवालको लगानी रहेको सिरहास्थित हिमालय सुगर मिल, जनकपुरमा रहेको शशीकान्त अग्रवालकै एभरेष्ट, केडिया समूहको लगानीमा सर्लाहीमा रहेको इन्दुशंकर सुगर मिल, राकेश अग्रवालको सर्लाहीमै रहेको अन्नपूर्ण सुगर मिल, सर्लाहीकै अर्को वीरेन्द्र कनौडियाको महालक्ष्मी सुगर मिल, रौतहटमा रहेको श्रीराम सुगर मिल, कलैया बारामा रहेको राजकुरमा गाडियाको रिलायन्स सुगर मिल, जगदिश अग्रवालको नाममा रहेको बाग्मती सुगर मिल, राकेश अग्रवालको इन्दिरा सुगर मिल, सुनवलमा रहेको मनिष अग्रवालको नाममा रहेको लुम्बिनी सुगर मिल, धनगढी महेन्द्रनगरमा गणेश बोगटीको नाममा रहेको बागेश्वर सुगर मिल र शेखर श्रेष्ठको नाममा कञ्चनपुरमा रहेको महाकाली सुगर मिलले स्वदेशमै चिनी उत्पादन गर्ने स्वीकृति लिएको भए पनि सो उद्योगबाट नगन्यमात्रामा चिनी उत्पादन हुदै आएको छ । मागअनुुसारको चिनीको भारतर बंगलादेशबाट आयात गरी नेपाली उत्पादनको ट्याग लगाएर बजार पठाउँदै आएको पाइएको छ । चिनी उद्योगीहरुले आफूखुसी चिनीको खुद्रा मूल्य समेत तोकेर बिक्री समेत गर्दै आएको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार व्यवसायी र उद्योगीको मिलिमतोमा २६ दशमलव १३ प्रतिशतसम्म मूल्य वृद्धि गरी खुद्रा मूल्य निर्धारण गरी बिक्री गरेको जनाइएको छ ।

यसरी अत्यधिक नाफा राखी मूल्य बढाई बिक्री गर्नेमा बारा, कलैया मनरुवामा रहेको रिलायन्स सुगर मिल्स, सर्लाही हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेड, महोत्तरी गौशालामा रहेको एभरेष्ट सुगर केमिकल इन्डस्ट्रिज र रौतहटको गरुणामा रहेको श्रीराम सुगर मिल्स रहेका छन् । चिनीको विवरणलगायत विभिन्न विषयमा केन्द्रित भएर अनुगमन र अनुसन्धान गर्दा इन्दुशंकर र श्रीरामले २६ दशमलव १२ प्रतिशतले वृद्धि गरेको पाइएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । उनका अनुसार नियमानुसार २० प्रतिशतभन्दा माथि मूल्य निर्धारण गर्न पाइँदैन । तर श्रीराम र इन्दुशंकर मिल्सले लागत मूल्यमा थप मुनाफा २६ दशमलव १२ प्रतिशत निर्धारण गरेको पाइएको छ । उपभोक्ताका अधिकार सुनिश्चित गर्नका लागि उपभोक्ता हित संरक्षण ऐन २०५४, नियमावली २०५६, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ र कालोबजारी ऐन रहे पनि कार्यान्वयनमा नआउँदा सिधै उपभोक्ता ठगिने गरेको उपभोक्तावादीहरुको दाबी रहेको छ ।