अन्तरबार्ता/विचार

यमनबाट प्रहार गरिएको मिसाइल साउदी अरबले खसाल्यो

१९ कात्तिक, रियाद । साउदी अरबले यमनबाट प्रहार गरिएको एक मिसाइललाई खसालेको दाबी गरेको छ । साउदी वायु सेनाले मिसाइललाई राजधानीको उत्तरपूर्व खसालेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सरकारी समाचार च्यानल अल अखबरियालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘मिसाइल सानो आकारको थियो र यसबाट कुनै क्षति भएको छैन ।’

यमनमा हुती विद्रोहीहरुसँग सम्वन्धित एक च्यानलले उक्त मिसाइललाई किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकको आकाशमा प्रहार गरिएको जनाएको छ ।

साउदी सुरक्षा बलले यसअघि पनि हुती विद्रोहीहरुको मिसाइललाई आकाशमा प्रहार गरेर खसालेको दावी गर्दै आएका थिए । तर यसअघि कुनै पनि मिसाइल बाक्लो बस्ती नजिकको क्षेत्रमा पुग्न पाएका थिएनन् ।

यमनका राष्ट्रपति अब्दराब्बुह मन्सुर हादीको सरकार र हुती विद्रोहीबीच युद्ध हुँदै आएको छ । साउदी अरबले हुतीलाई हराउने अभियानको अगुवाई गर्दै आएको छ । उसले सन् २०१५ देखि नै हुती विद्रोही संगठनमाथि हवाई कारबाही गर्दै आएको अन्तर्राष्ट्रिय संगठनमा सामेल भएको छ ।

साउदी अरबको नेतृत्वमा कारबाही शुरु भएपछि हालसम्म ८ हजार ६ सय भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने ५० हजार भन्दा बढी घाइते भएका छन् । यो संघर्षबाट २ करोड भन्दा बढी जनता प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट पनि यमनमा जारी संघर्ष रोक्ने प्रयास सफल हुन सकेको छैन ।