खेलकुद

नेपालले पहिलो पटक एकदिवसीय मान्यता पायो

काठमाडौं, चैत १ – नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो ।

नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ । आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको एकदिवसीय मान्यतामा भने प्लेअफमा पराजित भए पनि कुनै असर पर्ने छैन् ।