सोनामाई खबर

बलात्कारका घटना रोक्न महोत्तरीमा बिशेष कार्यक्रम

२० चैत, महोत्तरी । महोत्तरी जिल्लामा जबरजस्तीकरणी -बलात्कार) का घटनामा बृद्धि भएको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिशेष कार्यक्रम गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले जबरजस्तीकरणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियानका लागि बिशेष कार्यक्रम गर्ने भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै प्रहरी उपरीक्षक कडायतले जिल्लामा पछिल्लो समय जबरजस्तीकरणी र उद्योगका घटना बढेको भन्दै तीन महिने बिशेष कार्ययोजना अन्तर्गत घटना न्यूनकिरणको लागि बिशेष कार्यक्रम गर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक कडायतले तीन महिने बिशेष कार्ययोजना अन्तर्गत प्रत्येक गाउँगाउँ गएर बिभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।

जबरजस्तीकरणी र यसको वर्तमान अवस्था बारेमा जानकारी गराउनुका साथै अपराध नियन्त्रण गर्नका लागि सरोकारवाला निकायहरुको प्रभावकारी समन्वायात्मक भूमिका निर्धारण गर्ने, अपराध बढ्नुको कारणहरु पत्ता लगाउनु, अपराध न्युनिकरणको उपाय पत्ता लगाउने, प्रभावकारी न्यूनीकरणको लागि कार्ययोजना तयार गर्ने बताए ।

तीन महिने कार्ययोजना अन्तर्गत अपराध र रोकथाम तथा न्यूनिकरणका लागि चेतना जगाउन जनचेतना कार्यक्रम संचालन गर्ने, महिला शिक्षा तथा बालबालिका शिक्षामा जोड दिने, लैङ्गकि आधारमा हुने हिंसा तथा विभेद्हरुको अन्त्य गर्नको लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिने, स्थानीय तहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

जबरजस्तीकरणी र जबरजस्तीकरणी उद्योगमा डर त्रास, धाक-धम्की देखाई, ललाई फकाई, प्रेम बिवाहको बाहना बनाइ घटना घट्ने गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीमा सबैभन्दा बढी बर्दिबास नगरपालिका क्षेत्र र गौशाला नगर क्षेत्रमा बलात्कारको घटना बढी हुने गरेको प्रहरी प्रतिवेदनले देखाएको छ ।
अधिकांश पीडितको उमेर समूहको आधारमा १६ देखि २५ वर्षका उमेर समूह रहेका छन् ।

मंसिर, पुस, माघ, फागुनमा बढी मात्रामा घटना घट्ने गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

जबरजस्तीकरणी र उद्योग अपराधको घटनामा जिल्लामा पछिल्लो समय बृद्धि भएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्याकं अनुसार आर्थिक वर्ष ०७४/७५ को फागुन मसान्तसम्ममा मात्रै ५ वटा जवरजस्तीकरणी र ७ वटा जवरजस्तीकरणी उद्योगका घटना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

महोत्तरीमा बलात्कृत घटनाहरु राजनीतिक पहुच र पैसा कै भरमा एकाध घटना बाहेक सबै गाउँ घरमै मिल्ने गरेको छन् ।