सोनामाई खबर

किन बढाउँछन् बैंकहरुले व्याजदर ? आयो अर्को अफर

बजारमा लगानीयोग्य रकमको अभावको हल्ला तिब्र बनेर साम्य हुँदै गर्दा बैंकहरु निक्षेप संकलनमा अझै आक्रामक बनेका छन् । यस क्रममा कुमारी बैंकको कर्जा निक्षेप अनुपात क्रमिक रुपमा बढ्दै गए पछि उसले नयाँ व्याजदर सार्वजनिक गरेको छ । प्रत्येक त्रैमासमा कर्जा निक्षेप अनुपातको आकार बढ्दै गए पछि बैंकले निक्षेप संकलनमा कायम व्याजदर बढाएको हो । यसले बैंकलाई कर्जा प्रवाह गर्न मुस्किल पर्ने देखाउँछ भने जसरी पनि निक्षेप संकलनलाई तिब्र बनाउनु पर्ने देखाउँछ । गत आर्थिक वर्षको यसै अवधिमा ७४ प्रतिशत हाराहारी रहेको कर्जा निक्षेप अनुपात गत पुस मसान्तमा ७६.८२ प्रतिशतमा उक्लिएको थियो । अहिले उक्त अनुपात ७८.६९ प्रतिशतहुँदै ८० प्रतिशत नजिक पुगेपछि व्याजदर बढाउन बैंक बाध्य भएको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बचत खाताको व्याजदर ८ प्रतिशत पुर्याइएको छ । बैंकको उक्त व्याजदर आइतबारदेखि नै लागू भएको बैंकले जनाएको छ । यस अघि बैंकको बचत खाताको व्याजदर ७.५० प्रतिशत थियो ।

बैंकर्स संघले गरेको निर्णय अनुसार कुमारी बचत खाताको व्याजदर ८ प्रतिशतभन्दा माथि जान नसकेको हो । अधिकांस बैंकहरु अहिले बैंकर संघले गरेको निर्णय अनुसार बचत खातामा ८ तथा मुद्धती निक्षेपमा ११ प्रतिशतको व्याजदरमा प्रतिष्पर्धा गरिरहेका छन् ।

कुमारी बैंकले कर्जातर्फको व्याजदर तथा प्रिमियममा भने कुनै हेरफेर गरेको छैन । जस अनुसार उसको कर्जातर्फको व्याजदर १९ प्रतिशतसम्म कायम भएको छ । बैंकको आधार व्याजदर भने गत माघ ११.१७ प्रतिशतबाट बढेर ११.६१ प्रतिशत पुगेको छ र्। कर्जाको व्याजदर परिमार्जन नभए पनि आधार व्याजदरआएको बढोत्तरीले बैंकको कर्जाको व्याजदर केही मात्रामा बढेको छ ।

नयाँ व्याजदरको बिस्तृत विबरण यहाँ हेर्नुहोस् ।