सोनामाई खबर

सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा

सिद्धार्थ बैंक(SBL)  ले एकै पटक ८ वटा शाखा बिस्तार गरेको छ । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

रौतहटको माधवनारायण, तनहँको दुलेगौडा, नवलपुरको गँैडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ ८ वटा शाखा सञ्चालनमा ल्याइएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

उल्लेखित सबै शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने बैंकले जनाएको छ । त्यसै गरी बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने छन् । 

बिस्तारित शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।

उल्लेखित शाखाहरु सहित बैंकले देशभर १०८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ वटा एटीएम र ६८७ वटा पीओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।