अन्तरबार्ता/विचार

जेठदेखि लगानीकर्तालाई मार्जिन लेण्डिङ सुविधा, कार्यविधि आज पारित हुँदै

नेपाल धितोपत्र बोर्डले मार्जिन लेण्डिङ कार्यविधि पारित गराउने भएको छ । यस सम्बन्धमा अहिले धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक बसिरहेको छ । बोर्डले आयोजना गर्न लागेको स्टक एक्स्पोका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष डा. रेवत कार्कीले कार्यविधि पारित हुने जानकारी दिएका हुन् ।

बोर्ड अध्यक्ष कार्कीका अनुसार नेप्सेले कार्यविधिका केही बुँदाहरु परिमार्जन गरेर पठाएका पछि त्यसलाई पारित गर्न लागिएको हो । सेयर दलाल मार्फत ब्रोकर मार्फत मार्जिन लेन्डिङ गराउने सम्बन्धमा मस्यौदा बनेको लामो समय पछि त्यसलाई बोर्डले पारित गराउन लागेको हो । यो कार्यविधि पारित भए पछि सेयर दलालमार्फत लगानीकर्ताले कर्जा पाउने छन् । तर यसका लागि विभिन्न किसिमका मापदण्डहरु तोकिने छन् ।

धितोपत्र बोर्डले गत कात्तिक २१ गते ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ जारी गरेको थियो । जसमा एउटा ब्रोकरले आफ्नो खुद सम्पत्तिको दुई गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन ल्याण्डिङ्ग सुविधा (सेयर धितो कर्जा) उपलब्ध गराउन सक्ने व्यवस्था छ । तर उक्त निर्देशन अनुसार नेप्सेले कार्यविधि तयार गरेर बोर्डमा पठाए पनि केही बुँदाहरु नमिलेको भन्दै बोर्डले परिमार्जन गरेर पठाउन भनेको थियो ।

नेप्सेले बोर्डको भनाई अनुसार कार्यविधि तयार पारेर केही समय अघि बोर्डमा पठाएको थियो । उक्त मस्यौदालाई आज धितोपत्र बोर्डले स्वीकृत गर्न लागेको हो । उक्त कार्यविधि स्वीकृत भएसँगै बोर्डले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४ पुर्ण कार्यान्वायनमा आउने छ ।

बोर्डका अध्यक्ष कार्कीका अनुसार यही जेठ महिनादेखि मार्जिन लेण्डिगं सेवाको सुरुवात हुनेछ । यो सुविधा पाए पछि लगानीकर्ताले सेयर धितोबाट कर्जा लिन बैंक तथा वित्तीय संस्था धाउनु पर्ने छैन ।

बोर्डले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनमा यस्तो छ :-

मार्जिन कारोबार गर्ने ब्रोकर कम्पनीको खुद सम्पती पाँच करोड रुपियाँ हुनुपर्ने, एउटा ब्रोकरले आफ्नो खुद सम्पत्तिको दुई गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन ल्याण्डिङ्ग सुविधा पाउनेछन् ।

हाल ५० वटा स्टक ब्रोकर कम्पनीहरु सक्रिय रहेकाले प्रत्येकले १० करोड रुपैयाँका दरले कुल पाँच अर्ब रुपैयाँसम्मको सेयर धितो कारोबार गर्न पाउनेछन् ।

निर्देशिका अनुसार सूचीकृत कम्पनीहरूमध्ये कम्तिमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक बर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संस्थाको मात्र मार्जिन कारोबार गराउन सकिने व्यवस्था छ ।

ब्रोकरले मार्जिन ल्याण्डिङ्ग दिँदा १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउने रकम मात्र ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिन पाउनेछन् । साथै ब्रोकरले मार्जिन कारोबार सुविधा अवधीभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनसक्ने निर्देशिकामा उल्लेख छ । 

यस्ता खालका मार्जिनका लागि ब्रोकरले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग कर्जा लिएर कारोबार गर्न सक्नेछन् । तर कुनै एक ग्राहक तथा निजको एकाघरकाे सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइनेछैन ।

धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार तथा अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुपको मार्जिन कारोवार शुरु गर्न ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७४’ जारी गरिएको बोर्डको भनाई छ ।