सोनामाई खबर

संविधान संशोधन नगरे कडा आन्दोलन गर्ने राजपाको चेतावनी

१० जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृषेशचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधान संशोधन गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे मधेशका जनतालाई सहृय नहुने पनि बताए ।

सांसद लालले मधेशमाथि विभेद हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएकाले आफूहरुले विरोध गर्नु परेको दावी समेत गरे ।

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले पनि संविधान संशोधन गर्ने आफूहरुको अडान नीति तथा कार्यक्रममा समावेश गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन ।

उनले तराई, मधेशको विकासका लागि विशेष आर्थिक कार्यक्रम ल्याउन पनि सरकारसँग माग गरिन् ।

सांसद कुमारीले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई आत्मसात गर्न नसकेको आरोपसमेत लगाइन् ।