राष्ट्रिय समाचार

निपाह भाइरस संक्रमण फैलिए के गर्ने ?

 दक्षिण भारतमा अत्यन्त संक्रामक ‘निपाह भाइरस’ को संक्रमण फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा पर्न सक्ने सम्भावित असर र यसविरुद्घ अपनाउनुपर्ने रणनीतिबारे छलफल थालेको छ ।

दक्षिण भारतीय राज्य केरलाको कोझीकोडमा देखिएको निपाह भाइरसले हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । उक्त भाइरस संक्रमण भएका व्यक्ति भित्रिए नेपालमा उपचारको प्रबन्ध छैन ।

केरलामा नेपाली विद्यार्थी, कामदार छन् भने त्यहाँका स्थानीय बासिन्दा पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । ‘निपाह संक्रमित व्यक्ति भेटिए त्यो संक्रमणलाई ह्यान्डल गर्ने क्षमता हामीसँग छैन,’ इपिडिमियोलजीका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भने, ‘यस्ता बिरामीको उपचार गर्न ‘हेपा फिल्टर’ भएको अत्याधुनिक आइसोलेसन वार्ड हामीसँग छैन ।’ उनले भाइरसले संक्रमितहरू नेपाल आउने सम्भावना कम भए पनि विन्डो पिरियड (शरीरमा भाइरस प्रवेश गरे पनि परीक्षणबाट थाहा नहुने अवस्था) र इन्क्युुवेसन पिरियड (शरीरमा भाइरस प्रवेश गरिसकेपछि रोगको लक्षण नदेखिएसम्मको अवस्थाका व्यक्ति आउन सक्ने सम्भावनालाई नकार्न नसकिने पनि बताए ।

इपिडिमियोलोजीले यो भाइरसविरुद्घ सचेत भएर बस्न आग्रह गरेको छ । निपाह भाइरस जनावरबाट मानिसमा फैलिने नयाँ संक्रमण हो । फलफूल खाने चमेरो यो भाइरसको प्राकृतिक वाहक हो । यो संक्रमित चमेरो र सुँगुरको प्रत्यक्ष सम्पर्कमा आउने मानिसमा फैलिन सक्छ । यसबाहेक निपाह भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आउनाले पनि यो भाइरस फैलिन्छ । यति मात्र नभएर संक्रमित चमेरो वा चराचुरुङ्गीले खाएको फल खाँदा पनि स्वस्थ व्यक्तिमा संक्रमण हुन सक्छ ।

‘हामी यो भाइरसको कति जोखिममा छौं भन्नेलगायत सम्भावित संक्रमणबारे रणनीतिक तयारी सुरु गरेका छौं,’ इपिडिमियोलोजीका निर्देशक सेन्चुरीले कान्तिपुरसँग भने, ‘यो संक्रमण हामीलाई हँुदै हुन्न भन्न सकिने स्थिति छैन ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार यो भाइरससँग जुध्नका लागि हालसम्म कुनै खोप विकसित गरिएको छैन । संक्रमित व्यक्तिलाई इन्टेन्सिभ सपोर्टिभ केयर दिएर उपचार गरिन्छ । यो संक्रमण भएका बिरामी तुरुन्त उपचार नपाए ४८ घण्टाभित्र कोमामा जान सक्छ । निपाह भाइरसको सम्पर्कमा आएको ५ देखि १५ दिनमा ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखिन थाल्छ । विस्तारै कुराहरू बिर्सने, निकै अल्छी लाग्ने, कोमामा जाने र मृत्युसम्म हुन सक्छ ।

डब्लूएचओका अनुसार सन् १९९८ मा मलेसियाको काम्पुङ सुगईमा पहिलोपटक निपाह भाइरसको संक्रमण भेटिएको हो । त्यहाँ यो रोग संक्रमित सुँगुरको कारण किसानमा फैलिएको थियो । सन् २००१ मा निपाह भाइरस बंगलादेशमा समेत देखिएको थियो । त्यहाँ बर्सेनि यो रोगको संक्रमण देखिँदै आएको छ । २००१ र २००७ मा भारतको पश्चिम बंगालमा यो संक्रमण देखिएको थियो । त्यतिबेला बंगलादेशसँग टाँस्सिएको पश्चिम बंगालमा ५० जनाको मृत्यु भएको थियो ।

<