सोनामाई खबर

नयाँ सरकार बनेपछि चारपटक मूल्य वृद्धि

ढुवानी/यातायात पेट्रोल डिजेलकै भर पर्ने हुँदा पूरै अर्थतन्त्रमा प्रभाव पर्छ : विज्ञ 

प्रतिब्यारेल १ सय ३७ डलर हुँदा पेट्रोलको १ सय ८ रुपैयाँ थियो, हाल प्रतिब्यारेल ७९.२८ डलर छ तर बजार मूल्य १ सय १० रुपैयाँ तोकिएको छ : उपभोक्ताकर्मी

जेष्ठ ४, २०७५राजु चौधरी

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको सरकार बनेपछि इन्धनको मूल्य चारपटक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले चारपटक मूल्य बढाएको हो । निगमका अनुसार २०७४ चैत १९ गते पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा २/२ रुपैयाँ बढेको थियो ।

फाइल तस्बिर

२०७५ वैशाख ३ गते पेट्रोलमा १ र डिजेल/मटितेलमा २/२ रुपैयाँ बढाइयो । वैशाख १९ गते पेट्रोल डिजेल र मटितेल सबैमा २/२ रुपैयाँ बढयो । यस्तै अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको देखाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाएको छ ।

 

इन्धनको मूल्य बढ्दा चौतर्फी त्यसको असर देखिन्छ । डिजेलको मूल्यमा हुने वृद्धिले यातायात र ढुवानी सेवा महँगो हुन्छ । ढुवानी महँगो हुँदा आत्यावश्यक वस्तुको मूल्य पनि बढ्ने जानकारहरू बताउँछन् । ‘भूपरिबेष्ठित मुलुक र इलेक्ट्रिक मेट्रो भेइकल नभएको अवस्थामा इन्धनमा हुने मूल्य वृद्धिले चौतर्फी असर पर्छ,’ पूर्व वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले भने, ‘यसको समाधान भनेको व्यवस्थित विद्युत् उत्पादन, सहज र सरल आपूर्ति हो । तर, त्यो पनि हुन सकेन ।’

सार्वजनिक यातायातहरू पेट्रोल वा डिजेलकै भर पर्ने हुँदा पूरै अर्थतन्त्रमा प्रभाव पर्ने उनले दाबी गरे ।

 

मूल्य वृद्धिले सर्वसाधारणको जीवन कठिन हुने उनले बताए । मूल्य वृद्धि तर्कसंगत भए/नभएको पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको भाउ र स्वदेशमा भएको वृद्धिको तुलनामा जाँच गर्नुपर्छ । सबै सन्दर्भलाई विचार गरेर तेलको भाउ सन्तुलन राख्न आवश्यक छ,’ ओझाले भने । अर्थविज्ञ पोषराज पाण्डेको भनाइ पनि उस्तै छ । इन्धनमा हुने मूल्य वृद्धिले यातायात क्षेत्रमा केही असर गर्ने बताए । ‘निरन्तर बढिरहेको मूल्यले समग्र मुद्रास्फीति बढछ,’ उनले भने । निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले सोहीअनुसार यहाँ समायोजन गरेको बताए । ‘२०७१ असोजमा स्वचालित मूल्य लागू भएको थियो । स्वचालित मूल्यअनुसार भारतीय आयल निगम (आईओसी) ले नयाँ मूल्य पठाउँछ । सोहीअनुसार मूल्य समायोजन गर्दै आएका छौं,’ उनले भने ।

 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेकाले निगम रेडजोनमा रहेको उनले दाबी गरे । ‘महिनाअघि निगमको पाक्षिक नाफा करिब २० करोड रुपैयाँ थियो । बुधबारदेखी शून्यमा झरेको छ,’ उनले भने, ‘मूल्य थप बढ्ने क्रममा रहेकाले निगम रेडजोनमा छ ।’ हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल मूल्य ७८.२८ अमेरिकी डलर छ । जानकारहरूका अनुसार पेट्रोलियम निर्यातक राष्ट्र (ओपेक) को कार्टेलिङका कारण अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको छ । यस्तै इरानसँगै मध्यपूर्वमा राजनीतिक अस्थिरता छ । यसको असर अन्तर्राष्ट्रिय बजारमा मूल्यमा पनि परेको हो ।

 

आयल निगम अत्यधिक घाटामा गएपछि सरकारले स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोहीअनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ । निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको दाबी गरे पनि उपभोक्ताकर्मीहरूले भने विरोध जनाएका छन् । उनीहरूले स्वचालित मूल्यको नाममा अस्वाभाविक रूपमा मूल्य बढाउँदै आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनका अनुसार ४ वर्षअघि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल १ सय ३७ डलर थियो । त्यसबेला प्रतिलिटर पेट्रोल १ सय ८ रुपैयाँ कायम गरिएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ७९.२८ डलर भए पनि पेट्रोलको बजार मूल्य १ सय १० रुपैयाँ तोकिएको छ । ‘आयातित इन्धन पुन: भारत गएको बहानामा मूल्य वृद्धि गरिएको छ । यसले नेपालको प्रशासन र कानुनी निकायहरू कमजोर भएको देखाउँछ,’ महर्जनले भने, ‘औचित्यविहीन मूल्य वृद्धि भएको छ ।’

 

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा हुने उतारचढाव हुँदा स्थानीय बजारमा आपूर्ति सहजीकरण गर्न मूल्य स्थिरीकरण कोष’ स्थापना गरिएको छ । इन्धनको मूल्य वृद्धि हुँदा कोषको रकम परिचालन गरेर सर्वसाधारणलाई सस्तोमा इन्धन उपलब्ध गराउने उद्देश्यले कोष खडा भएको थियो । तर, कोष परिचालन हुन सकेको छैन । इन्धन विस्थापित गर्न विद्युतीय साधनमा जोड दिनुपर्ने विज्ञ बताउँछन् । ‘सहज, सरल र कम मूल्यमा विद्युत् उत्पादन गर्न सके इन्धनको खपत कम हुन्छ,’ पूर्वसचिव ओझाले भने, ‘त्यस अवस्थामा इन्धनको मूल्य बढे पनि कुनै असर गर्दैन ।’