सोनामाई खबर

नयाँ आइफोनमा चारवटा क्यामरा

एप्पल कम्पनीले यो वर्ष तिनवटा नयाँ आइफोन लञ्च गर्नेवाला छ ।

दोश्रो पुस्ताको आइफोन एक्स सँगै, एक्स प्लस तथा एलसिडी डिस्प्लेयुक्त ६.१ इन्चको अर्को एक आइफोन एप्पलले बजारमा ल्याउने बताइएको छ ।

नयाँ आइफोन एक्स र एक्स प्लसको डिजाइन अनलाइनमा लिक भैसकेको छ । र, सोही आधारमा अनुमान गरिएको छ की आइफोन एक्स प्लसमा वावे पी २० मा जस्तै ट्रिपल रियर क्यामरा हुनेछन् । अर्थात् नयाँ आइफोन एक्स प्लसमा तिनवटा मुख्य र एउटा सेल्फी गरी चारवटा क्यामरा हुनेछन् ।

ट्रिपल लेन्स रियल क्यामरा थ्री डी सेन्सिंग प्रविधियुक्त हुनुका साथै उत्कृष्ट जूम फिचरको साथ उपलब्ध हुने बताइएको छ ।

आइफोन एक्सको दोश्रो संस्करणमा भने डुअल रियर क्यामरा हुने बताइएको छ ।

एप्पलले ल्याउने भनिएको ६.१ इन्चवाला आइफोनको नाम चाहीँ आइफोन नाइन हुनसक्ने बताइएको छ । यसमा विशेष तहसँगै एलसिडी डिस्प्ले हुनेछ । यो सस्तो मूल्यको आइफोनमा एकमात्र रियर क्यामरा रहनेछ ।

आगामी सेप्टेम्बरमा एप्पलले आफ्ना नयाँ आइफोन घोषणा गर्नसक्ने विश्वास गरिएको छ । गत वर्ष एप्पलले सेप्टेम्बरमा आइफोन एक्स सार्वजनिक गरेको थियो भने नोभेम्बरबाट बिक्रि सुरु गरेको थियो । तर यो वर्ष भने सेप्टेम्बरमा लञ्च हुनासाथ नयाँ आइफोन बजारमा उपलब्ध गराउने योजना एप्पलको रहेको छ ।

एजेन्सी