सोनामाई खबर

भारतीय धूले आँधीका कण नेपाल छिरेपछि भयो 'हिले वर्षा' !

काठमाडौँ — भारतको राजस्थान, लखनऊ, उत्तरप्रदेशको धूले आँधी (डस्ट स्ट्रम) का कणहरु नेपाली वायुमण्डलमा छरिएपछि धमिलो वर्षा भएको विशेषज्ञहरुले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार राजस्थान, दिल्ली र लखनउमा केही दिनदेखि बेगले धुले आँधी आएको र उत्तर प्रदेश हुँदै नेपालको दक्षिणतिर प्रवेश गरेको वायुमा आँधीका कण फैलिएकाले वर्षा धमिलो भएको हो ।

 

‘भारतीय हुरीसँगै नेपाल प्रवेश गर्ने वायुले धूलो हाम्रो वायुमण्डलमा ल्यायो,’ पौडेलले कान्तिपुरसित भने, ‘धूलोले भरिएको वायुमण्डलमा वर्षा भएपछि माटो मिसिएर वर्षा हुन पुग्यो।’ हाम्रोतिर उपल्लो वायुमण्डलमा दक्षिण-पश्चिम वायु चलेको थियो। त्यहीबीचमा भारततिरबाटसमेत वायु थपिएपछि आँखाले देख्न नसकिने कणको मात्रा नेपालतिर आएको उनले उल्लेख गरे।

 

‘त्यहाँ (भारत) बाट आएको हल्का तैरिने खालको कणहरु हावाले बोकेर लेरायो,’ उनले थपे, ‘हामीकहाँ बादल बनिरहेको थियो। त्यो धूलो पानीसँग मिसियो अनि मैंलो खालको वर्षा भयो।’ उनका अनुसार यस्तो समस्या झापादेखि कञ्चनपुरसम्मै छ। अध्ययनले ती कण चिल्लोखालको पाइएको बताए। ‘छाम्दा चिल्लोपना पाइएकाले ती कण हानिकारक छन् भन्ने पुष्टि हुन्छ,’ उनले भने।

 

तराईका जिल्लासहित काठमाडौंमा पनि शुक्रवार रातिदेखि त्यस्तो समस्या देखिएको छ। आकाशबाटै धमिलो वर्षा भएको भनी सम्प्रेषण भएका समाचारको महाशाखाका विशेषज्ञहरुले खण्डन गरेका छन्। ‘विगतमा हिउँद याममा यस्तो धूलो आउँथ्यो,’ पौडेलले भने, ‘अहिले मनसुनमा आयो।’

 

हिउँद याममा पनि धूलो र धुवा बढी आउँदा नेपाली वायुमण्डल दिउँसै अध्यारो हुने गरेको थियो। भारततिरबाट धुलोका कण आउने क्रम घट्दै गएको छ। ‘वर्षा भइरह्यो भने ती कणले केही असर गर्दैन,’ उनले भने।