मनोरंजन

भारतीय बलिउडका हास्य कलाकार राजपाल यादवलाई ३ महिनाको जेल सजाय

बलिउडका हास्य कलाकार राजपाल यादवलाई दिल्लीको सर्वोच्च अदालतले चेक बाउन्सको केसमा ३ महिनाको जेल सजाय सुनाएको छ ।
राजपाल यादवले सन् २०१० मा एउटा व्यक्तिबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । तर पछि उनले लिएको रकम चुक्ता गर्न सकेनन् ।
यादवले ऋण तिर्न नसकेपछि ऋण दिने व्यक्तिले अदालतको सहायता लिएका हुन । केही समयअघि अदालतमा राजपाल यादवले १० करोड ४० लाख रुपैयाँ फिर्ता दिनुपर्ने सम्झौता भएको थियो । त्यसपछि पनि यादवले उक्त रकम तिर्न नसकेपछि उनलाई ३ महिनाको जेल सजाय सुनाइएको हो ।
राजपाल यादवले आफुलाई समस्या परेको भन्दै सन् २०१० मा एक व्यक्तिबाट ऋण मागेका थिए । ऋण लिएको पाँच वर्ष पछि सन् २०१५ मा उनले ऋण दिने व्यक्तिलाई पैसा फिर्ता गर्न चेक दिएका थिए । तर उक्त चेक बैङ्कमा जम्मा गराउदा बाउन्स भएको थियो ।
त्यसपछि ती व्यक्तिले राजपाललाई वकिलको सहायतामा सूचना पनि पठाएका थिए । तर राजपालले ऋण नतिरेपछि अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
राजपाल यादवले बलिउडमा ‘चुप चुपके, भुलभुलैया, गरम मसाला, फिर हेरा फेरी, जुुडवा २’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।