अन्तराष्ट्रिय समाचार

भारतमा दशौं हजार किसान ‘दिल्ली चलो’ भन्दै संसद भवनतिर, मोदीलाई अप्ठ्याराे

नयाँदिल्ली : मङ्सिर १६ 

भारतमा दशौं हजार किसानहरु आफ्नो उत्पादनको उचित मुल्य पाउनुपर्ने भन्दै आन्दोलित बनेका छन् ।

शुक्रबार मात्रै यहाँको संसद भवनतिर जाँदै दशौं हजार किसान तथा कृषि क्षेत्रका कामदारहरुले र्याली गरेका छन् । उत्पादनको माग गर्दै उनीहरुले गरेको र्यालीले सन् २०१९ मा हुने भनिएको आम निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै दबाव महसुश हुने बताइन्छ ।

‘हामीले खासगरी भूमिहिन तथा महिला र किसानका लागि कानुनी अधिकार मागेका हौँ,’ आन्दोलनको अगुवाइ गर्नेमध्ये एक अभियन्ता कविथा कुरुगान्थीले भनिन्, ‘जमिन र उत्पादनको नाफामा हाम्रा किसानहरुको अधिकार सुरक्षित गर्नु आवस्यक छ ।’

अभियन्ता समूहलाई हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाहरुले भने अनुसार ८० हजार भन्दा बढी किसान तथा कृषि कामदारहरु दिल्लीका लागि ‘मार्च पास’ मा सहभागी छन् ।

‘दिल्ली चलो’ नामको नाराका साथ उनीहरु दुइ दिन हिँडेरै नयाँ दिल्लीस्थित संसद भवनमा धर्ना दिन पुग्ने छन् । महाराष्ट्रबाट किसानहरुको नेतृत्व गर्ने अजित अवालेका अनुसार उनीहरुले ‘मुनाफा, उत्पादनको उचित मुल्य र संसद बैठकमा यसबारे विशेष बहस ।’ गरी मुख्यतः तीन माग उठाएका छन् ।

राहूल गान्धी, अरविन्द केजरिवाल लगायत प्रतिपक्षी दलका नेताहरूले अान्दाेलनकारी किसानहरूलार्इ सम्बाेधन गरिसकेका छन् । गान्धीले सम्बाेधनकाे क्रममा भनेका छन्, 'उनीहरूले सरकारसँग उपहार मागिरहेका छैनन् । अाफ्नै अधिकार मागेका हुन् ।' भारतमा पछिल्लो २० वर्षयता ऋण तिर्न नसकेर वा उत्पादनमा ह्रास आउँदा ३ लाख भन्दा बढी किसानहरुले आत्महत्या गरेका छन् । हरेक वर्ष लाखौं साना किसान ऋण र न्युन आम्दानीका कारण सताइँदै आएका छन् ।