राष्ट्रिय समाचार

बलात्कारी कतार भाग्ने तयारीमा

मङ्सिर १६  लहान । 

सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर २ मा सामुहिक बलात्कारका फरार अभियुक्तहरु अझै पक्राउ पर्न सकेको छैन् ।घटनामा संलग्न ४ जना मध्ये २ जना पक्राउ परेपनि २ जना फरार छन् ।

हिन्दूहरुको महान चाड छठ पर्वको खरनाको राती घरमा पसेर महिलालाई बलात्कार गरिएको थियो ।महिलाले प्रतिकारगर्दा कुटपिट समेत गरिएको थियो ।

घरमा सुतिरहेको अवस्थामा ३५ वर्षीय महिलामाथि समशुल मिया, इसराफूल मियाँ, जगतपुरका सलामत मियाँ र जाकिर मियाँले सामुहिक बलात्कार गरेका थिए । मुखमा कालोपट्टि बाँधेर घरमा पसेका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेका थिए ।

   राती टोलमा नाटक भईरहेको र त्यसको चर्को ध्वनीले महिलाले कराएको आवाज बाहिर सुनिएको थिएन् ।महिलासित उनका दुई जना साना सन्तान मात्र थिए । पीडितका पति कामको क्रममा विदेशमा छन् ।

 

बलात्कारमा संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ प्रहरीको नियन्त्रणमा छन् ।उनीहरुलाई स्थानीय बासिन्दाहरुले पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।तर फरार रहेका दुई जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् ।

फरार रहेका जगतपुरका सलामत मियाँ र जाकिर मियाँ काठमाण्डुमा रहेका र उनीहरु कतार तर्फ उडने तयारीमा रहेको बताईएको छ ।स्रोतहरुका अनुसार कतारमा कार्यरत्त सलामत र जाकिर त्यस तर्फ जान काठमाण्डु पुगेका छन् ।

ईलाका प्रहरी कार्यालय पतारिका प्रमुख प्रहरी निरीक्षक रवी भुषण यादवले फरार रहेकाहरुको खोजीमा प्रहरीको विशेष टोली परिचालन गरिएको बताए ।‘फरार रहेकाहरुको व्यापक खोजी भईरहेकोछ’ उनले भने, देश बाहिर जानबाट रोक्न विमान स्थल र नाकाहरुमा समेत निगरानी भईरहेकोछ ।

अभियुक्तहरुलाई पक्राउ गर्न स्थानीय बासिन्दा, महिलाहरुले प्रदर्शन गरेपनि प्रहरीले पक्राउ गर्न ढिला गरेको पीडित पक्षको आरोप छ ।घटना भएको तीन हप्ता बित्न लाग्दापनि उनीहरुलाई पक्राउ गर्न नसक्नु प्रहरीको कमजोरी भएको स्थानीयहरुले बताए ।