अन्तराष्ट्रिय समाचार

९.२ म्याग्निच्युड भुइँचालोबाट पाठ सिक्दा जोगियो अलास्का

रेडियो सोनामाई डेक्स,

अमेरिकाको अलास्कामा शनिबार ठूलो भुइँचालो गयो। ७ म्याग्निच्युडको भुइँचालोले अलास्काका सडक चिरा–चिरा परे।

भुइँचालो यतिमा रोकिएन। ४.५ म्याग्निच्युडभन्दा माथिका पराकम्प लगातार आइरहे। २४ घन्टामा २३० पटकभन्दा बढी परकम्प आइसकेको छ।

यो ठूलो भुइँचालोमा अलास्काकै ठूलो र मुख्य सहर एंकोरेज जोड्ने राजमार्ग भासिएर ध्वस्त भएको छ। तस्बिरमा भुइँचालोपछिको सडक अवस्था हेर्ने हो भने, एंकोरेज सहर ध्वस्तै भएको अाकलन गर्न सकिन्छ। सयौं मान्छे ठूल्ठूला घरमुनि थिचिएको सोच्न सकिन्छ। 

तीन वर्षअघि नेपालमा आएको ७.८ म्याग्निच्युडको भुइँचालो हामीले कहाँ बिर्सेका छौं र?

अझै त्यसबाट उक्सिन नसकेका हामीले अलास्कामा पनि यस्तै भयो होला भन्ने कल्पना गर्नु स्वाभाविक हो। तर अलास्कामा यस्तो केही भएको छैन। राजमार्ऊ फुटेर चिरा परेर आवागमन नै बन्द भए पनि सहर जस्ताको तस्तै छ।

घरहरू गर्ल्यामगुर्लम्म भत्किएका छैनन्। भुइँचालोको शक्तिअनुसार सहरमा भएको क्षति एकदमै कम भएको एंकोरेजका अधिकारीहरूले बताएका छन्।

एंकोरेजको आगलागी नियन्त्रण विभागका अनुसार भुइँचालोका कारण यहाँ ४ घरमा आगलागी भयो। सिटी हलका अनुसार सहरभरमा जम्मा दुई वटा संरचना भत्किए। कुनै मानवीय क्षति भएको छैन।

तर यहाँ यसो नहुन पनि सक्थ्यो।

अलास्काको यो क्षेत्रका मान्छे पनि भुइँचालो सुन्नेबित्तिकै झस्किन्छन्। शनिबारको भुइँचालोमा पनि मान्छेहरू एकदमै आत्तिएका थिए। सरकारी निकायहरू चिन्तित थिए।

यसको कारण हो, अलास्काको इतिहास।

अलास्कामा सन् १९६४ मा ९.२ म्याग्निच्युडको भुइँचालो गएको थियो। यो अमेरिकाको इतिहासमै सबभन्दा ठूलो र संसारको इतिहासमा दोस्रो ठूलो भुइँचालो हो।

यो भुइँचालोपछि अलास्कामा सुनामी आएको थियो। त्योबेलै सय जनाभन्दा बढी मान्छे मरेका थिए। सयौं घर ध्वस्त भएका थिए। समुद्र किनारका स—साना गाउँ पूरै बगेका थिए।

यस्तो पृष्ठभूमि भएको सहरमा शनिबार आएको भुइँचालोले सबलाई तर्साएको थियो।

‘पूरै घर हल्लिरहेको थियो, भुइँ त यताउता चल्मलाइरहेको,’ स्थानीय एन्डर्स ओल्मस्टेडले भने, ‘मेरा घरका कोठाहरू कता–कता पुगेजस्तो लागेको थियो। म साह्रै डराएँ। छोरी बोकेर बिममुनि बसेँ। सामानहरू धमाधम खसे। तर घर केही भएन।'

यति ठूलो भुइँचालोको भोलिपल्टै यहाँका मान्छेको दैनिकी सामान्य भइसकेको छ। पसलहरू खुलिसकेका छन्। घरतिर खसेका सामान यथावत स्थानमा मिलिसकेका छन्।

भुइँचालोको भोलिपल्ट आइतबार पसलमा सामान किन्दै एंकोरेजका स्थानीय। तस्बिरः एपी

यसको पछाडि पहिलेको भयानक भुइँचालो नै कारण रहेको एंकोरेजका अधिकारीहरूको भनाइ छ। भयानक भुइँचालो खेपेको पृष्ठभूमिका कारण अलास्कावासीले आफ्ना घर–संरचना ६–७ म्याग्निच्युडको भुइँचालो सम्झेर बनाएका छैनन्। उनीहरूले त्यही ९.२ लाई आधार मानेका छन्।

‘पहिलेको भयानक भुइँचालो गएको धेरै भइसक्यो,’ अलास्का एंकोरेज विश्वविद्यालयका जोइ याङले भने, ‘एंकोरेजका मान्छेलाई थाहा छ, भुइँचालोले घर तथा संरचनामा कति क्षति पुर्याउन सक्छ।’

‘यहाँ कुनै पनि घर—संरचना बनाउँदा धेरै मापदण्ड पूरा गर्नुपर्छ,’ विश्वविद्यालयमा सिभिल इञ्जिनियर विभागका अध्यक्ष रहेका याङले भने, ‘झन् भुइँचालोले असर गर्नसक्ने जोखिम स्थानमा धेरै नै विधि पुर्याएर काम गर्नुपर्ने हुन्छ।’

अलास्का अमेरिकाकै सबभन्दा धेरै भुइँचालो आइरहने सहर हो। सन् १९९० पछि यहाँ वर्षको ७–८ वटा भुइँचालो आएका छन्। अलास्काको मुनि प्यासिफिक प्लेटको चलमलले यहाँ भुइँचालो आउँछ।

‘यो भुइँचालो सानो भने होइन,’ ज्वालामुखीसम्बन्धी एक कार्यक्रमका निर्देशक बेन एन्ड्रियूजले भनेका छन्, ‘यसले धेरै क्षति गराउन सक्छ। हाम्रो तयारी राम्रो भएकाले हामी न्यून क्षति हुनेमा आशावादी थियौं।’

(दन्यूयोर्क टाइम्म र नेसनल जोग्राफिकको सहयोगमा)