सोनामाई खबर

अब नेपाल र बंगलादेशबीच पनि अन्तरदेशीय प्रसारणलाइन

रेडियो सोनामाई डेक्स,

१८ मंसिर, काठमाडौं । नेपाल र बंगलादेश अन्तरदेशीय विद्युत प्रशारणलाइनको निर्माण प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् । काठमाडौंमा बसेको नेपाल-बंगलादेश उर्जा संयन्त्रको अन्तर्गतको सचिवस्तरीय ‘जोइन्ट स्टेरिङ कमिटी’को बैठकले दुई देशबीच प्रशारणलाइन निर्माण गर्न संयुक्त प्राविधिक टोली गठन -प्रशारण) गर्ने निर्णय गरेको छ ।

यही समितिले प्रशारणलाइन निर्माणबारे छलफल गरी आवश्यक तयारी सुरु गर्नेछन् । केही समयअघि मात्रै नेपाल र बंगलादेशबीच विद्युत ब्यापार गर्ने समझदारी भएको थियो । बंगलादेशले नेपाली आयोजनामा संयुक्त लगानी गर्न र यहाँ उत्पादित बिजुली किन्न चासो देखाएको छ ।

सचिवस्तरीय बैठकले दुई देशबीच विद्युत व्यापारको सम्भावना खोज्न योजनाको समीक्षा गर्ने र नेपालमा लगानी योग्य सम्भावित जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्न अर्को प्राविधिक टोली (उत्पादन) गठन गर्ने निर्णय पनि गरेको छ । यी दुवै टोलीमा दुवै देशका तीन-तीन सदस्य रहनेछन् । यी टोलीका सदस्यहरुको नाम एक महिनाभित्र दुवै देशले एक अर्कालाई उपलब्ध गराउनेछन् ।

बैठकमा भारत र बंगलादेशबीच रहेको यस्तै प्रकारको संयुक्त समितिको आगामी बैठकहरुमा अन्तरदेशीय प्रशारणलाइन सम्बन्धी त्रिपक्षीय व्यवस्था गर्न दुवै देशले प्राथमिकताका साथ भारतसँग विषय उठान गर्ने सहमति भएको छ ।


यस्तै सहसचिवस्तरीय ‘जोइन्ट वर्किङ ग्रुप’ले गरेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने विद्युत तथा दुई देशबीचमा नविकरणीय उर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णयलाई अनुमोदन गरिएको छ ।

नेपालको तर्फबाट बैठकको नेतृत्व उर्जासचिव अनुपकुमार उपाध्याय र बंगलादेशका तर्फबाट उर्जासचिव अहमद काइकाउसले गरेका थिए ।

अनलाइनखबर