सोनामाई खबर

प्रदेश २ सरकारको भोज : तिहारको मासुभातमा ११ र ओलीको स्वागत भोजमा ६ लाख स्वाहा

जनकपुर्  मंसिर २० 

२ नम्बर प्रदेश सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्न नसकेको गुनासो भइरहेको अवस्थामा भोजभतेरमै लाखौं रकम खर्चिन थालेका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले हिन्दूको पर्व तिहार र छठ पर्वको अवसरमा गत कात्तिक १८ गते शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।
प्रदेश सरकारको सचिवालय मधेश भवनमा मुख्यमन्त्री राउतले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कर्मचारी, संवैधानिक निकायका पदाधिकारी, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजलाई आमन्त्रण गरेर शुभकामना सन्देश व्यक्त गरेका थिए ।
कार्यक्रममा ११ लाख ८२ हजार ५ सय रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यक्रममा १ हजार २ सय १० प्लेट खानाबापत ९ लाख ७ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । प्रतिप्लेट ७ सय ५० रुपैयाँका दरले खानामा खर्च भएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता टीकामणि नेउपानेले लोकान्तरसँग भने, ‘हामीले करीब १ हजार जना जतिले खाना खान सक्ने अनुमान गरेका थियौं । तर भीड बढ्यो । झन् मन्त्रालयका हामीजस्ता कतिपय कर्मचारीले त खाना नै खान सकेनौं ।’
विराटनगरको नारायण टेन्ट हाउसलाई खाना, टेन्ट र पन्डाल तथा कुर्सी समेतको व्यवस्था गर्न भनिएको थियो । खानाबापत ९ लाख ७ हजार ५ सय र टेन्ट, पन्डाल र स्वागतद्वारबापत २ लाख ५० हजार गरी ११ लाख ५७ हजार ५ सय रुपैयाँ टेन्ट हाउसको बिल भुक्तानी गरिएको नेउपानेले बताए ।
‘कुखुराको मासु, खसीको मासु र माछा सहितको खानाको प्रतिप्लेट ७ सय ५० रुपैयाँ धेरै नै सस्तो भएकाले टेन्ट हाउसलाई त्यो काम दिइएको थियो,’ नेउपानेले भने ।
कार्यक्रममा केही सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । ‘अस्तित्व नेपाल जनकपुर संस्थाले केही सांस्कृतिक कार्यक्रम गरेबापत ५० हजार रुपैयाँको बिलसहित भुक्तानीका लागि माग गर्दा २५ हजार रुपैयाँभन्दा बढी दिन नसकिने गरेर मैले आफैं तोक लगाएको छु,’ नेउपानेले भने । प्रधानमन्त्री ओलीको स्वागतमा भोजभतेरमा ६ लाखभन्दा बढी खर्च प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउँदा उनको सम्मान र स्वागतमा प्रदेश सभाले ६ लाख रुपैयाँभन्दा खर्च गरेको छ । गत भदौ २ गते प्रधानमन्त्री ओली २ नम्बर प्रदेशको प्रदेश सभामा आएर विशेष सम्बोधन गरेका थिए । ओलीको स्वागत र सम्मानमा प्रदेश सभाले समेत दिवाभोजको आयोजना गरेको थियो ।
प्रदेशसभा सचिवालयका लेखा अधिकृत लालबाबु मिश्रका अनुसार प्रधानमन्त्री ओलीको सम्मानमा ६ लाख ४७ हजार ७ सय ६० रुपैयाँ खर्च भएको थियो । ‘उहाँ आउँदा विभिन्न ४ स्थानमा स्वागतद्वार, व्यानर आदि बनाइनुका साथै आन्तरिक सजावट समेत गरिएको थियो । दिवाभोजको समेत आयोजना गरिएको थियो,’ लेखा अधिकृत मिश्रले भने ।
स्वागतद्वार, आन्तरिक सजावट र सरसफाइका लागि जनकपुरका अमित टेन्ट हाउसलाई जिम्मा दिइएको थियो । जसबापत टेन्ट हाउसलाई १ लाख ९७ हजार ७ सय ६० रुपैयाँ भुक्तानी गरिएको छ । स्वागतद्वारबापत १ लाख २० हजार रुपैयाँ टेन्ट हाउसलाई भुक्तानी गरिएको छ । ब्यानरका लागि सर्लाहीको मलंगवा–१० का पेन्टर सुजितकुमार यादवलाई व्यानरबापत ७७ हजार ७ सय ६० रुपैयाँ भुक्तानी गरिएको छ ।
मिथिला भोजनका लागि जनकपुरकै होटेल मिथिला व्यञ्जन प्रालिलाई जिम्मा दिइएको थियो । खानाबापत ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको लेखा अधिकृत मिश्रले बताए । प्रधानमन्त्री ओलीसँगै प्रदेश सभाका सांसद, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतका लागि खानाको व्यवस्था गरिएको थियो