सोनामाई खबर

विवाह पञ्चमीमा मैथिलीदेखि शारदा सिन्हासम्म जनकपुर आउँदै

जनकपुरधाम : मंसिर २० 

गतेबाट सुरु हुन लागेको सीताराम विवाह महोत्सवका लागि यसवर्ष मूल आयोजक जानकी मन्दिरले नेपाल र भारतका ख्याती प्राप्त कलाकारहरुलाई बोलाएकाे छ । यसवर्ष भारतबाट आउने कलाकारहरुमा मैथिली भोजपुरीका प्रसिद्ध गायिका शारदा सिन्हाको नाम प्रथमिकतामा राखिएको छ । त्यस्तै कम उमेरमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल मैथिली ठाकुरलाई समेत विवाह पञ्चमीमा गायनका लागि आमन्त्रण गरिएको तिलाेत्सव मूल समारोहका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दास बैष्णवले द नेपाल टपलाई जानकारी दिए ।

त्यस्तै मैथिला क्षेत्रमा ख्याती प्राप्त शास्त्रीय गायक कुञ्जबिहारी मिश्र पनि आउने महन्थले जनाए । नेपालको तर्फबाट स्थानीय मिथिला नाट्यकला परिषद्का गायक/संगीतकार सुनील मल्लिक र गायिका संगीता देव पनि आफ्नो कला प्रस्तुत गर्ने छन् ।

मैथिली गायनको क्षेत्रमा नेपाल-भारत दुवै स्थानमा आफ्नो पहिचान बनाउन सफल रश्मी रानी, गायक/संगीतकार धीरेन्द्र प्रेमर्षिकाे पनि सहभगिता रहने छ । नृत्य क्षेत्रमा देशविदेशमा परिचित नायिका डाेली सरकारलार्इ पनि विवाह पञ्चमीमा आमन्त्रित गरिएकाे छ ।

सप्ताहव्यापी हुने कार्यक्रममा एकदिन नेपाल-भारत महिला मैत्री संघ, तीन दिन भारतीय दुतावासको आयोजनामा रामलिला हुने कार्यक्रम तय भइसकेको जानकी मन्दिरले जानकारी दियाे ।
आयोजक जानकी मन्दिरको आफ्नै आयोजनामा छूट्टै सात दिनसम्म भारतका चर्चित समूहद्वारा रामलीला हुने छ ।

रामलीला गर्ने कलाकारहरु जनकपुर आइपुगेको उत्तराधिकारी दासले बताए । कार्यक्रमहरु फुलवारी लीलादेखि नै जानकी मन्दिर र वरहविघामा हुने गरी तयारी थालिएको छ ।

आमन्त्रित कलाकारहरुले मिथिलाको परम्परागत भाकामा गीत गाउने र रामजानकीका लागि बनाइएका गीतहरुमा नृत्य गर्नेछन् । जानकी लीला, राम लीला र त्रेता कालीन् झलक आउने रामायणको सम्पूर्ण पाठसमेत हुने तयारी रहेको छ ।

जानकी मन्दिरमा अहिले दुर्इ दिन अगाडिदेखी नै सहनाई वादकहरुको एक समूह बिहान र वेलुकी मंगलधुन बजाइरहेकाे छ । मिथिलावासीले जानकीलाई कोही छोरी त कोही बहिनीको रुपमा मान्ने भएकोले विवाह पञ्चमीलाई विशेष सांस्क़ृतिक उत्सवको रुपमा पहिलेदेखि नै मनाउँदै आएको हो ।