राष्ट्रिय समाचार

पर्साको ठोरीमा मात्र अढाइ विघामा गाजा

पर्सा पुस १ गते 

प्रहरीले २८ मंसिरमा पर्साको ठोरी गाउँपालिकाको विभिन्न ठाउँमा गरी झण्डै एक विघामा लगाइएको गाजा फाँड्यो । ठोरी गाउँपालिका ४ विजयबस्ती र निर्मलबस्ती क्षेत्रमा लगाइएको गाजाखेती फडानी गरेको प्रहरीले जनाएको छ ।

यसअघि २० मंसिरमा पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीकै विभिन्न स्थानमा रोपिएको झण्डै डेढ विगाहाको गाजा खेती प्रहरीले नष्ट गरेको थियो । ठोरी गाउँपालिका ४, विजयवस्तीमा विभिन्न व्यक्तिहरुले लगाएको अन्दाजी डेढ विघा (३० कठ्ठामा) लगाएको झण्डै २२ हजार बोट गाजा नष्ट गरिएको दावी प्रहरीको छ ।

दुई पटक गरेर प्रहरीले पर्साको ठोरी गाउँपालिका ४ क्षेत्रमा मात्रै अढाइ विघा जमिनमा लगाएको गाजा खेती नष्ट गरेको छ ।

ठोरी गाउँपालिकाको ४ मा पर्ने जंगल र सीमा क्षेत्रमा गाजा खेती गरेको पाइएको छ । प्रहरीले ५ नम्बर कुना, फारलाइन, नयाँ बस्ती क्षेत्रमा पुगेर खोजी खोजी गाजा फाडेको थियो । स्थानीयले प्रहरीको आँखा छल्नका लागि सुर्ती, मकैको बीचमा, घर छेउको करेसाबारीमा बेरा लगाएर, जंगल छेउको अनकन्टार जमिनमा गाजा खेती गर्ने गरेको पाइएको छ । स–सानो परिमाणमा लगाइएको भए पनि ठाउँ–ठाउँको जम्मा गर्दा ठूलो परिमाणमा हुने भएकोले आर्थिक प्रलोभनमा परेर स्थानीय अवैध गाजा खेतीमा लागेको अनुमान गरिएको छ ।

ठोरीबाहेक पर्साको पटेर्वा सुगौली गाउँपालिकाकामा समेत गाजा खेती गरिन्छ । मकवानपुरबाट आउने गाजा नियन्त्रण नगरेका कारण पर्सामा फेरी मानिसहरु गाजा खेतीतर्फ उन्मुख भइरहेको कतिपयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी मानबहादुर राई गाजा खेती भएको सूचना आउने वित्तिकै प्रहरी परिचालन गरेर नष्ट गरिरहेको बताउँछन् ।

‘घरको करेसाबारीमा ४०/५० बोट रोप्नु भनेको घरायसी प्रयोगका लागि पनि रोपेको हुन सक्छ, भारतमा मंहंगोमा बिक्री हुने र सीमा क्षेत्र पनि भएकोले कतिपयले व्यवसायिक खेती गरेको पनि देखिन्छ । सुर्ती खेतीको बीचमा पनि लगाएको पाइएको छ, अन्यबालीबाट भन्दा धेरै आम्दानी हुने भएकोले अवैध भए पनि जोखिमै मोलेर खेती गरिरहेको देखिन्छ’ उनले भने ।