राष्ट्रिय समाचार

तीन लाख पोर्न साइट बन्द गर्छौं : सञ्चारमन्त्री बास्कोटा

काभ्रे पुस १ गते 

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले थप तीन लाख पोर्न साइट बन्द गर्ने बताएका छन् ।

जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र थप ३ लाख पोर्नसाइट प्रतिबन्धको तयारी गरिएको जानकारी दिए । 

उनले भने, ‘नेपाली समाजमा विकृति, भित्र्याउने साधन बनेका छन्, नेट इन्टरनेट यसलाई सदुपयोग भन्दा पनि दुरुपयोग डरलाग्दो बन्दै छ, त्यसकारण हामी समाजलाई नकारात्मक सन्देश दिने, नेपाली समाजलाई मन नपर्ने साइट बन्द हुन्छन् ।’

मन्त्री बास्कोटाले नेपाल टेलिकमले व्यापार मात्रै नभई जनता जहाँ छन्, ती सबै ठाउँमा सेवा दिनुपर्ने बताए । ‘मनाङ ४३ सय मिटर माथिसमेत हामीले सेवाको तयारी गरेका छौं, एक वर्षभित्र टेलिकमले भिन्न तरिकाले सेवा दिने छ, फोरजी सेवाको विकास गरिदैं लगिने छ’ उनले भने ।

मन्त्री बास्कोटाले सबैखालको प्रविधिको प्रयोग गरे पनि दुरुपयोग नगर्न आग्रह गरे । मन्त्री बास्कोटाले बेथानचोक गाउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई फोन गरेर पीएसटीएन एक्सटेन्सन सेवाको प्रारम्भ गरेका थिए ।