मनोरंजन

झन्–झन् रोमान्टिक

काठमाडौँ पुस ७ गते 

प्रियंका कार्की र आयुष्मान देशराज जोशी चाँडै नै श्रीमान्–श्रीमती बन्दैछन् । त्यसो त इन्गेज्मेन्ट गरेपछि नै उनीहरूले जोडीका रूपमा वैधानिकता पाइसकेका छन् ।, यद्यपि उनीहरूलाई विवाह नगरी श्रीमान्–श्रीमती भन्न मिल्दैन । इन्गेज्मेन्टपछि उनीहरूले जोडीका रूपमा प्रेम दिवस शीर्षकको चलचित्रमा समेत अभिनय गरिसकेका छन् । विवाह गर्ने तयारी गरिरहेकै बेला अहिले यो जोडी थप रोमान्टिक बन्दै गएको टिप्पणी गर्न थालिएको छ । 

सामाजिक सञ्जालहरूमा उनीहरूले आफ्ना अन्तरंग दृश्यसहितका तस्बिर दिनहुँजसो पोस्ट गरिरहन्छन् । केही साताअघि उनीहरूले स्वीमिङ पुलमा रोमान्स गरेको तस्बिरले चर्चा पाएको थियो । अहिले उनीहरू भैरहवाको एउटा रिसोर्टमा खिचेको तस्बिरका कारण चर्चामा छन् । पछिल्लो तस्बिरमा प्रियंका स्वीमिङ कष्टममै छिन् भने आयुष्मान टपलेस छन् । तस्बिरमा उनीहरू कति सम्म रोमान्टिक मुडमा छन् भन्ने कुरा अनुमान गर्न खासै गाह्रो पर्दैन । विवाह नहुँदै रोमान्सको सीमा नाघ्न उद्यत यो जोडी विवाहपछि कस्तो भाव–भंगिमामा प्रस्तुत हुने हो, प्रतीक्षाकै विषय भएको छ ।