खेलकुद

आठौं राष्ट्रिय खेलकुद फागुनमै

महोत्तरी  पुस २३ गते। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनामै आयोजना हुने दाबी गरेका छन् । निर्माणाधीन नेपालगन्ज रंगशालाको निर्माणको काम अधुरै छाडेर प्रतियोगिताका लागि हतार गर्न नहुने राखेप पदाधिकारीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेपालगन्ज आएका सदस्यसचिव विष्टले फागुनमै प्रतियोगिता आयोजना हुने बताएका हुन् ।

विष्टले केही दिनभित्र राखेप बोर्डको बैठक बसेर प्रतियोगिता नसर्ने गरी मिति तय गर्ने बताए । ‘फागुनमै प्रतियोगिता आयोजना हुनेमा कुनै अन्योल र दुविधा छैन । कृत्रिम ढंगले अन्योलताको प्रचार गरिएको हो । फागुनमै प्रतियोगिता हुन्छ र गर्न सकिन्छ’, विष्टले अन्नपूर्णसँग भने । हरेक वर्ष ‘क्यालेन्डर मिस’ गर्दा राष्ट्रिय प्रतियोगिताले कसैलाई फाइदा नहुने जिकिर गर्दै उनले भने, ‘आठौं मात्र होइन । अब हरेक दुईदुई वर्षमा नियमित रूपमा राष्ट्रिय प्रतियोगिता आयोजना हुन्छ । नवौं र दसौं पनि दुईदुई वर्षमै हुन्छ । हामी त्यही थिति बसाल्दैछौं ।’

रंगशालाको फिल्ड र भीआईपी प्यारापिट निर्माणका लागि ठेकेदारलाई १५÷१५ दिनको म्याद थप गरी काम चाँडो सम्पन्न गर्ने उनको भनाइ थियो । ‘पुस मसान्तभित्र रंगशालाको फिल्डको काम सकिन्छ । त्यसपछि घाँसको चपरी हाल्ने काम मात्र बाँकी रहन्छ’, उनले दाबी गरे, ‘१० दिनभित्र भीआईपी प्यारापिटको फाउन्डेसनको काम सकिन्छ । मलेसियामा सामान बनिरहेको छ । सामान नेपाल ल्याएपछि १५ दिनमा फिटिङको काम रात दिन लगाएर सात दिनमै सम्पन्न गरिन्छ ।’

भन्सारबाट सामान ल्याउँदा सरकारबाट विशेष व्यवस्था गर्ने पनि उनको दाबी थियो । भीआईपी प्यारापिटमा कोठाहरू निर्माण गर्ने, फिनिसिङ गर्ने लगायतका कामहरू बाँकी राखेर भए पनि प्रतियोगिता आयोजना गर्न सकिने उनले बताए । खेल पूर्वाधार निर्माणमा बजेट पनि बाधक बनिरहेको बारे विष्टले बजेट निकासाका लागि अर्थ मन्त्रालयमा निवेदन दिइसकिएकाले निकासामा कुनै दुविधा नरहेको प्रस्ट पारे ।

‘हामीलाई ४३ करोड आवश्यक हो । १७ करोड ८३ लाख रुपैयाँ निकासा भइसकेको छ । अरू रकम पनि चाँडै निकासा हुन्छ । सरकारको नीति तथा कार्यक्रममा परेको बजेट हो । निकासामा समस्या हुन्न ।’ राखेप पदाधिकारी पिच्छे राष्ट्रिय खेलकुदबारे फरकफरक धारणा आउनुलाई भने उनले ‘व्यक्तिगत इन्ट्रेस’ का विचारको संज्ञा दिए ।

एकजना कसैले भन्दैमा प्रतियोगिताको मिति तय हुने नभई बोर्ड बैठकबाट मिति तय हुने भएकाले कसैको अभिव्यक्तिको आधारमा धारणा नबनाउन पनि उनले आग्रह गरे ।