सोनामाई खबर

स्वाद बढाउने त छँदैछ, औषधीय गुणले पनि भरिपूर्ण छ लसुन

नेपाली भान्सामा लसुनको प्रयोग अनिवार्यजस्तै मानिन्छ । मुख्यतः खानाको स्वाद बढाउन प्रयोग गरिने लसुन औषधीय गुणले पनि भरिपूर्ण रहेको हामीले सुनेका छौं । लसुनसँग सम्बन्धित अन्य पनि धेरै कुरा छन्, जसबारे धेरैलाई थाहा छैन ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म नेपालमा ८२ लाख ८५ हजार १३५ किलो लसुन आयात भएको तथ्यांक छ । आयात भएको लसुनको कुल लागत एक अर्ब एक करोड २२ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

लसुनको इतिहास  

करिब पाँच हजार वर्षअघिदेखि नै लसुन मानिसको खानपानसँग जोडिएको छ । प्राचीन इजिप्टमा पहिलोपटक लसुन रोपिएको मानिन्छ । इजिप्टका पिरामिडहरुमा शवलाई जोगाएर राख्न पनि लसुनको प्रयोग गरिन्थ्यो । प्राचीन ग्रिक र रोमनहरु पनि यसको व्यापक प्रयोग गर्थे ।

मानिसहरुको बसाइँसराइसँगै लसुनको प्रयोगले व्यापकता पाउँदै गयो । ईसापूर्व छैटौं शताब्दीमा लसुनले चीन र भारतमा प्रवेश पाइसकेको इतिहासमा उल्लेख छ । त्यसबेला यसलाई उपचारका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यसपछि क्रमशः लसुनको प्रयोग उपचारमा मात्र नभएर दैनिक जीवनमा हुन थाल्यो । बितेका केही वर्षदेखि यसको प्रयोगले अचम्मको व्यापकता पाइरहेको छ । यसको प्रमुख कारण यसको फाइदा नै हो ।

अहिले चीन, दक्षिण कोरिया, भारत, स्पेन र अमेरिका लसुनका प्रमुख उत्पादक मुलुक हुन् ।

लसुनको औषधीय गुण

लसुन आयुर्वेदिक उपचारमा बढी प्रयोग हुने गरेको पाइन्छ । लसुनमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिफंगल र एन्टिभाइरल गुणहरू हुन्छन् । जुन संक्रमणको जोखिमबाट बचाउन प्रभावकारी हुन सक्ने आयुर्वेद अनुसन्धानविज्ञ डा. विसुनदयाल प्रसाद पटेल बताउँछन् ।

बच्चामा कफ, श्वासप्रश्वासको समस्या र छाती घ्यारघ्यार भयो भने लसुनको रसले छातीमा घाँटीमा मालिस गरियो भने यस्ता समस्या कम भएर जाने उच्च रक्तचाप नियन्त्रणमा पनि लसुनको सेवन फाइदाजनक मानिने उनी बताउँछन् ।

‘घाउचोट लागेको ठाउँमा लसुनको रस लगाउँदा छिटो निको हुन्छ,’ डा. पटेल भन्छन्, ‘महिलामा महिनावारी गडबडीमा पनि यसको सेवनले महिनावारी नियमित गर्न मद्दत गर्छ  ।’

डा‍. विसुनदयाल प्रसाद पटेल

नसासम्बन्धी समस्यामा लसुन र तेलको मालिसले राहत दिन्छ । लसुनको सेवनले खानामा रुचि हुने र अपचको समस्या पनि कम गर्ने पटेल बताउँछन् । लसुनमा पोटासियम, आइरन, क्याल्सियम, फस्फोरसजस्ता धेरै आवश्यक पोषक तत्व पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुने पटेल बताउँछन् ।

‘यसमा एलिसिन र सल्फर यौगिकहरू पनि हुन्छन् ।  यसका साथै लसुनमा एनियोनी र ऐलेन कम्पाउन्ड पनि पाइन्छ, जसले लसुनलाई प्रभावकारी औषधि बनाउँछ । यी तत्व र यौगिकहरूको कारणले लसुनको स्वाद अलिकति तीतो हुन्छ, तर यी तत्वहरूले लसुनलाई संक्रमण हटाउने क्षमता पनि दिन्छ,’ पटेल भन्छन् ।

लसुनको फाइदा

लसुनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउँछ । लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधिको रुपमा प्रयोग गरिन्छ । लसुनमा जति धेरै पोषक तत्व छ, त्यति नै क्यालोरीको मात्रा कम हुने पटेल बताउँछन् ।

लसुनको सेवनले उच्च रक्तचाप कम गर्छ । कोलेस्टेरोल नियन्त्रण गर्छ, जसकारण मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । ‘लसुनमा एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ,’ उनी भन्छन् ।

लसुनको सही प्रयोग 

लसुनको प्रयोग खानामा स्वाद बढाउन प्रयोग गरिन्छ । तोरीको तेलमा लसुनको केही केस्रा  हालेर तताएर जोर्नी दुखाइमा प्रयोग गर्न सकिने पटेल बताउँछन् । दैनिक दुई ग्राम लसुनको सेवन गर्नु उपयोगी हुन्छ । दुईवटा केस्रा लसुन दुई ग्रामजति हुन्छ । रुघाखोकीको कफसम्बन्धी समस्यामा लसुनलाई महसँग मिसाएर खानु राम्रो हुन्छ । दुखाइसम्बन्धी समस्या कम गर्न लसुनलाई गाईको घिउमा पकाएर खान सकिने पटेल बताउँछन् ।

लसुनको बेफाइदा

लसुन धेरै नै गुणकारी छ । लसुनको प्रयोगले धेरैलाई फाइदा हुन्छ, तर कुनै रोगका विशेष बिरामीका लागि भने हानिकारक हुन्छ ।

सबै अवस्थामा लसुन फाइदाजनक हुँदैन । कतिपय अवस्थामा लसुन सेवन गर्दा त्यसले नकारात्मक असर गर्छ । त्यसैले आफ्नो शारीरिक अवस्थाअनुसार लसुनको प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा निक्र्योल गर्नुपर्ने पटेल सुझाउँछन् ।

धेरै मात्रामा लसुनको सेवनले ग्यास्ट्रिकको समस्या हुन सक्छ । साथै एसिडिटी, छाती पोलेमा, पेटको अल्सर तथा पखालाजस्ता समस्यामा पनि लसुन सेवन नगर्नु नै उचित हुने उनी बताउँछन् । गर्भावस्थामा लसुनको प्रयोग पनि हानिकारक हुन सक्छ, किनकि लसुन गरम प्रकृतिको हुने भएकाले यसले गर्भमा रहेको शिशुलाई हानि पुर्‍याउन सक्ने पटेल बताउँछन् ।

‘रक्तअल्पता (एनिमिया)का बिरामीका लागि पनि लसुनको सेवन हानिकारक हुन सक्छ । यस्तो अवस्थामा लसुनको सेवनले हेमोग्लोबिनको मात्रालाई कम गर्न सक्छ, जसलाई चिकित्सकीय भाषामा हिमोलाइटिक एनिमिया समेत भन्ने गरिन्छ,’ उनी भन्छन् ।

लसुनको प्रयोगले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइडजस्ता रसायन निर्माण गर्न सहयोग पुर्‍याउँछ । यी रसायनहरुले मुटुको धमनीलाई आराम दिने गर्छ । ‘उच्च रक्तचाप हुनेका लागि लसुन फाइदाजनक हो, तर न्यून रक्तचाप हुनेका लागि लसुन खतरनाक पनि हुन सक्छ,’ पटेल भन्छन् ।

लसुनको बारेमा केही रोचक तथ्य

युरोपेली देशमा लसुनलाई ‘सेतो जादूको राजा’ मानिन्छ । मध्ययुरोपेली देशहरूमा लसुनलाई नजिक राख्दा ‘दुष्ट आत्मा र पिशाचहरू हाम्रो नजिक आउँदैनन्’ भन्ने विश्वास छ ।

इस्लाममा भनिएको छ मस्जिद जाँदा लसुन खानु हुँदैन, किनभने यसको तिखो गन्धले ध्यान भंग गर्छ । हिन्दूहरूको ठूलो वर्गले यस कारणले लसुन खाँदैन कि लसुनले हाम्रो प्रतिशोधात्मक गुणहरू जगाउँछ, जसले हाम्रो शुद्धतालाई नष्ट गर्छ । जैन धर्मका अनुयायी र बौद्ध धर्मका केही शाखाहरूलाई लसुन खान निषेध गरिएको छ ।

धेरै मानिस लसुन देखेर डराउँछन्, जसलाई चिकित्सा विज्ञानमा एलिम्फोबिया भनिन्छ । कपुरले लसुन जलाउँदा लामखुट्टे, झिंगा र कीराहरू भगाउँछ । लसुनको ल्वाङ्गलाई पानीमा मिसाएर अर्गानिक कीटनाशक बनाउन सकिन्छ ।

लसुनमा १७ एमिनो एसिड हुन्छ । यी एमिनो एसिडहरू शरीरको उचित कार्यका लागि धेरै महत्त्वपूर्ण छन् । चिनियाँ खानामा यति धेरै लसुन किन हुन्छ ? भन्ने धेरैले सोचका हुन सक्छन् । यसको कारण संसारको ६६ प्रतिशत लसुन चीनमा उत्पादन हुने भएर हो ।

लसुनले कोलेस्टेरोलको स्तर घटाएर मुटुको स्वास्थ्यका लागि मात्र फाइदा गर्दैन, यसले शरीरलाई चिसो र खोकीबाट पनि बचाउँछ । पेटको स्वास्थ्यका लागि पनि लसुन निकै फाइदाजनक हुन्छ ।