सोनामाई खबर

सहकारीविरुद्ध प्रहरीमा उजुरीका चाङ, लाखौँ सर्वसाधारणको अर्बाैँ बचत जोखिममा

नियमन गर्ने राज्यसंयन्त्रको अकर्मण्यताका कारण सहकारी संस्थामा लाखौँ सर्वसाधारणको अर्बौँ निक्षेप जोखिममा परेको छ । एकपछि अर्काे सहकारी समस्यामा पर्दा प्रहरीमा उजुरीको चाङ लागेको छ भने सञ्चालक फरार हुन थालेका छन् । 

पछिल्लो दुई महिनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा मात्र एक दर्जन सहकारीविरुद्ध उजुरी परेका छन् । तीमध्ये धेरैजसो सहकारी विभागबाटै पत्राचार भएर अनुसन्धान भएका छन् भने सर्वसाधारण सीधै पनि सिआइबीमा पुग्न थालेका छन् । एउटै सहकारीविरुद्ध सयभन्दा धेरैको उजुरी परेको छ । 

उजुरी बढ्दै गएपछि अनुसन्धान नै धान्न नसक्ने अवस्था आउन लागेको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । ‘सहकारी ठगीको अवस्था भयावह देखिन्छ,’ उनले भनिन्, ‘फोन, फेसबुकदेखि कार्यालयमै आएर उजुरी गर्ने बढिरहेका छन् । उजुरीको चाप हेर्दा हामीले अनुसन्धान धान्न सक्ने अवस्था छैन । ठगी गर्ने सहकारीको संख्या सयौँ छ, पीडितहरूको संख्या लाखौँ छ । त्यसकारण यो समस्यालाई फरक ढंगले समाधान गर्नुपर्छ भन्ने लाग्छ, प्रहरीले थुनेर मात्र यो समस्या समाधान होला जस्तो लाग्दैन ।’ 

सहकारी समस्या विकराल बन्दै गएपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त रावतको अध्यक्षतामा गत महिना कार्यदल गठन गरेको थियो । पहिलो बैठक बसेको दुई महिनाभित्र प्रतिवेदन बुझाउन समयावधि दिइएको भए पनि कार्यदलले अहिलेसम्म काम नै सुरु गरेको छैन । 

विगतमा पनि समस्या समाधानका लागि विभिन्न समिति र कार्यदल बने पनि सहकारी क्षेत्रमा सुधार हुन सकेन । जसकारण सिंगो सहकारी क्षेत्र नै संकटमा परेको छ । 

एक दर्जन सहकारी सिआइबी छानबिनमा 
सिआइबीले हाल शिव शिखर सहकारी र एकताबद्ध सहकारीका सञ्चालक पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । शिव शिखरले मात्र एक लाखभन्दा धेरै सर्वसाधारणको करिब १४ अर्ब रुपैयाँ फिर्ता गरेको छैन । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको यो सहकारीका ३५ जिल्लामा शाखा कार्यालय छन् । निक्षेप फिर्ता गर्न नसकेपछि सबैजसो कार्यालय बन्द छन् । ‘हामीले तीन सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाएकोमा उनीहरू जेल चलान भएका छन्,’ एआइजी बज्राचार्यले भनिन्, ‘यो सहकारीले सर्वसाधारणको करिब १४ अर्ब रकम हिनामिना गरेको देखिन्छ ।’ 

बुढानीलकण्ठको एकताबद्ध सहकारीमा नौ सय ५८ सदस्य छन् । जसमध्ये एक सय ९१ जनाले सिआइबीमा उजुरी दिएका छन् । आठ करोड १८ लाख निक्षेपको दाबी गरिएको छ । 

यसबाहेक ललितपुरको कुमारीपाटीस्थित पशुपति सहकारी, चुच्चेपाटीको एभर ट्रस्ट सहकारी, तिनकुनेको रियल गोर्खा सहकारीका सञ्चालकलाई पनि पक्राउ गरी कारबाही गर्न सहकारी विभागले सिआइबीलाई पत्राचार गरेको छ । 

पशुपतिविरुद्ध हालसम्म एक अर्ब १४ करोड रुपैयाँ माग गरी जाहेरी परेको छ । त्यस्तै, एभर ट्रस्टविरुद्ध एक सय ८८ जनाले ३४ करोड १४ ठगीको जाहेरी दिएका छन् । रियल गोर्खाविरुद्ध एक सय १४ जनाले दुई करोड ६४ लाखको जाहेरी दिएका छन् । 

त्यस्तै, ललितपुरको लालीगुराँस, नेसनल, सुमेरु, देउराली, काठमाडौंको कुलेश्वरस्थित गौतमश्री सहकारीलगायतविरुद्ध पनि सर्वसाधारण उजुरी लिएर सिआइबी धाउन थालेका छन् । तर, प्रहरीले सहकारी विभागले पत्राचार गरेपछि मात्र अनुसन्धान गर्दै आएको छ । बानेश्वरमा रहेको सन्ध्या ऋण तथा बचत सहकारी संस्था, हरित कृषि सहकारीविरुद्ध पनि उजुरी परेका छन् ।

त्यस्तै, बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले विभिन्न सहकारीका सञ्चालकलाई कारबाही गर्न सिआइबीलाई पत्राचार गरेको छ । काठमाडौंको एबिसी बचत तथा ऋण सहकारी संस्था, स्मृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, अक्षता बचत तथा ऋण सहकारी संस्था, राइजिङ अप बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरको सातदोबाटोस्थित मञ्जरी बहुउद्देश्यीय सहकारी संस्था, सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विश्वास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भद्रकाली कृषि सहकारी संस्था लिमिटेडविरुद्ध पनि प्रहरीमा मन्त्रालयले पत्राचार गरेको छ । 

गोलढुंगाको जनप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं तिनकुनेको भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, टोखाको जयअम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्युचाटारको विशुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध पनि सिआइबीलगायत निकायमा उजुरी परेका छन् ।

महाराजगन्जको हिउँचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, न्युरोडको लवकुश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, राष्ट्रप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि निक्षेप फिर्ता दिन नसकेपछि निक्षेपकर्ता प्रहरीमा पुगेका छन् । एकैपटक धेरै सहकारीविरुद्ध उजुरी आएपछि सिआइबी अनुसन्धान नै गर्न नसक्ने अवस्थामा पुगेको छ । प्राथमिकताका आधारमा ब्युरोले पालैपालो अनुसन्धान गरिरहेको छ । 

बचतकर्ता सडकमा, सञ्चालक विदेशमा